ओलीमाथि आरजुको टिप्पणी- ‘उखानले देश होइन, कमेडी च्याम्पियन चल्छ’

काठमाडाैँ ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा केन्द्रीय सदस्य देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् । यसका लागि कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताएकी हुन् । ‘हरेक समयमा देश समस्यामा हुँदा त कांग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ,’ उनले भनिन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि टिप्पणी गर्दै उनले उखानले देश होइन, कमेडी च्याम्पियन चल्ने बताइन् । ‘उखान टुक्का सुन्न टेलिभिजनमा कमेडी च्याम्पियन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उनले भनिन् ‘उखान टुक्का सुनाउँदै हिँड्ने कांग्रेस होइन, कांग्रेस हरेक अप्ठ्यारो परिस्थितिमा देशलाई बचाएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *