दशगजामै चीनले लगायो बार, परराष्ट्र मन्त्रालय बेखबर

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै।

गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएकाबारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन। यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्।

भन्छिन्, ‘हाम्रो जानकारीमा रहेसम्म रुई नाकामा दशगजाभन्दा पर तारबार गरिएको छ। सीमास्तम्भभन्दा दशगजा क्षेत्रभित्र तारबार वा कुनै पनि संरचना बनाउँदा दुईपक्षीय सहमति आवश्यक पर्छ। दशगजाभन्दा बाहिर हो भने छलफल गरिरहनु पर्दैन। तर, यस स्थानमा दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ। स्थानीय छिरिङ लामा भन्छन्, ‘रुइला नाकामा तारबार लगाएको छ। त्यो पनि दशगजा भित्रै। तारबार भने चीनतर्फको भागबाट फलाममा बाँधिएको छ।’

तीन वर्षदेखि आवतजावत ठप्प
चीनले दशगजा क्षेत्रमा नै तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि बन्द रहेको स्थानीय छिरिङ लामा बताउँछन्। तार लगाएकै तीन वर्ष भएको उनको भनाइ छ। ‘चीनले तारबार लगायो। आवतजावत बन्द छ। आफन्त भेट्न जान पनि पाइँदैन,’ उनले भने। उनी थप्छन्, ‘साम्दो र रुई भनेको त वारि र पारिको गाउँ हो। यताको आफन्त उता पनि छन्। उताका इष्टमित्र यता पनि छन्। सीमाना बन्द भएपछि बुढाबूढीहरू आफन्त भेट्न नपाएर चिन्ता गरिरहेका छन्।

सीमानाका नै तारबारले बन्द गरिदिएपछि अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। चीनले तारबार गरेर गेटमा ताल्चा लगाएको स्थानीयले बताएका छन्। ‘गेटमा ताल्चा लगाएको छ। सीसी क्यामेरा राखेर निगरानी भइरहेको छ भन्ने हल्ला सुनिन्छ तर हामीले देखेका छैनौं’, अर्का स्थानीय धावा लामाले भने, ‘उता तिब्बती र चिनियाँ सेना प्रहरी मिलेर डिउटी बसेका हुन्छन्।’

रुई भञ्ज्याङको वारपार हुने गरी तारबार गरेको हालै त्यहाँ व्यक्तिगत भ्रमण गरेर फर्केका एक सरकारी कर्मचारीले जानकारी दिए। ‘रुई भञ्ज्याङ ढाक्ने गरी वारपार तारबार गरिएको छ’, नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘तारबार करिब डेढसय मिटर लामो छ। तारबार गरेर गेटमा चापी लगाएको छ। त्यहाँबाट त यसै पनि हिँड्न मिल्दैन। बार कटेर दुवै छेउकुनाबाट पनि मान्छे र पशुचौपाया हिँड्डुल गर्न मिल्दैन।’ आफूहरू त्यहाँ पुग्नेबित्तिकै चिनियाँ र तिब्बती सुरक्षाकर्मी आइपुगेको उनले बताए।

ङुइला नाकामा पनि थियो तारबार
चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि तारबार गरिएको थियो। तर, छेकम्पारका सामाजिक अगुवाहरूले दुईपक्षीय छलफल नगरी तारबार लगाइएको भनेर पटक–पटक बिरोध गरेपछि त्यसलाई हटाइएको छ।

सीमा आयोगका सदस्य रमेश ढुंगेल स्पष्ट सीमांकन नभएको ठाउँमा द्विपक्षीय छलफल नगरी तारबार गर्न नपाइने तर्क गर्छन्। ‘जहाँ स्पष्ट रूपमा सीमांकन गरिएको छ, त्यहाँ दसगजाभन्दा बाहिर संरचना बनाउन सोधिरहनु पर्दैन, तर जहाँ स्पष्ट ‘डिमार्केसन’ छैन, त्यहाँ दुई पक्षीय छलफल र सहमति नभएसम्म कुनै पनि संरचना बनाउन पाइँदैन’, उनी भन्छन्, ‘मलाई लाग्छ, हिमाली भेगमा स्पष्ट डिमार्केसन गरिएको छैन। त्यस्तो संवेदनशील ठाउँमा जुनसुकै संरचना बनाउन पनि दुईपक्षीय सहमति चाहिन्छ।’

नेपाल सरकारले कुनै पनि सिमानामा आफ्नो तर्क र अडान दह्रोसँग राख्न नसकेको उनको विश्लेषण छ। ‘यस्तो संवेदनशील विषयमा मन्त्रीहरूले ओठे जवाफ दिएजस्तो सतही कुराले हुँदैन’, उनी भन्छन्, ‘प्रत्येक १० वर्षमा सीमा पुनरावलोकन गर्ने भन्ने हरेक सन्धि, सम्झौतामा उल्लेख हुन्छ तर हाम्रो कुनचाहिँ सीमानाको १०–१० वर्षमा पुनरावलोकन भएको छ ? सीमा सुदृढ गर्न नसक्नु यो कमजोरी सरकारको हो। सयौं वर्षअघि मानसरोबर, कैलाश हाम्रो थियो भन्न नपाइने ? सीमांकन गर्दा हाम्रा अधिकारीहरूले गल्ती गरेका थिए भन्न नपाइने ? आफ्नो भूभागका बारेमा बोलिरहनुपर्छ, लेखिरहनुपर्छ।’ सीमाका बारेमा बोल्नै हुँदैन भन्नु दासहरूको मनोवृत्ति भएको उनले तर्क गरे।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने दुई देशीय सीमा क्षेत्रमा तारबारलगायतका संरचना बनाउँदा दुई देशीय सहमति जुटाउनुपर्ने तर्क गर्छन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि दशगजा क्षेत्रभित्र संरचना बनाउँदा दुई देशबीच सहमति हुनुपर्ने बताएका छन्।

कोभिड महामारी सुरु भएदेखि चीन सरकारले सीमा क्षेत्रमा तारबार गरेर नाकाबन्दी गरेको छ। नाकाबन्दीका कारण सीमा क्षेत्रका नेपाली गाउँबस्तीको जनजीवन प्रभावित भएको छ। सीमा खुला गर्न माग गर्दै स्थानीयवासी तथा जनप्रतिनिधिहरूले बारम्बार प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री तथा परराष्ट्र मन्त्रीहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै आएका छन्।

आफ्नो क्षेत्रमा तारबार गरेका चिनियाँ सुरक्षाकर्मीले सीमा क्षेत्रमा नेपालीहरूलाई घुमफिर गर्न पनि कडाइ गर्ने गरेका छन्। ‘केही दिनअघि एकजना लामा सीमानामा पुगेका थिए। उताका सेनाले कोभिड ड्रेस लगाइदिएर फर्काइदिएछन्’, साम्दोका छिरिङ लामाले भने । -अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.