सिराहा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिँदै जसपाबाट निलम्बित सांसद सरिता गिरि

काठमाडाैँ । जनता समाजवादी पार्टी [जसपा] बाट कारबाहीमा परेकी नेता सरिता गिरिले आसन्न सङ्घीय निर्वाचनमा सिराहा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घाेषणा गरेकी छन् । उनले त्यस क्षेत्रबाट स्वतन्त्ररूपमा चुनाव लड्ने घाेषणा गरेकी छन् ।
गिरिले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरिएकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको विरोध गर्दै सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध संशोधन राखेकी थिइन् । त्यसपछि उनकाे कदम राष्ट्र हितविपरीत भएकाे भन्दै जसपाले उनलाई स्पष्टीकरण साेधेकाे थियाे । त्यसकाे जवाफ चित्तबुझ्दाे नभउकाे भन्दै उनलाई २०७७ असार २३ गते बसेकाे जसपा केन्द्रीय कार्यकारिणी बैठकले कारबाही गर्ने निर्णय गरेकाे थियाे ।
गिरिले यसबीचमा नयाँ समूह गठन गरेकी छन् । उनले मधेश विकास फोरम गठन गरेकाे जानकारी केही समयअघि दिएकी थिइन् । जानकारीअनुसार उक्त समूह लाहान नगरपालिका ४ का स्थानीय रामप्रसाद महतोको अध्यक्षतामा रहेकाे छ ।








