वायुसेवा सञ्चालकले हडताल नगर्ने, वार्ता जारी

काठमाडौँ । वायुसेवा सञ्चालकहरुले हडताल नगर्ने भएका छन् । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट उनीहरू पछि हटेका हुन् ।

हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो । जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए । उनकाअनुसार प्राधिकरणसँग आफ्ना ५ बुँदे मागबारे संवाद जारी नै छ ।

प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो । मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ । सरकारसँग आज मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ ।

११ बजेबाट हवाई सेवा शुरु
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएसँगै बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुनेछन् । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले ट्वीट गर्दै बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएका हुन् ।

वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा  बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए ।

सम्बन्धित समाचार
वायु सेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने
उडान रोके चुप लागेर नबस्ने महानिर्देशक अधिकारीको चेतावनी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *