वायु सेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने

काठमाडौँ । उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौँबाट उडान गर्न रोक लगाउने सरकारको व्यवस्थाप्रति निजी वायु सेवा सञ्चालकहरुले विरोध जनाएका छन् ।

नेपाल वायुसेवा सञ्चालकक संघले मंगलबार पत्रकार सम्मेलन गरी पाँच बुँदे माग सार्वजनिक गर्दै बुधबारदेखि आन्तरिक उडान ठप्प निर्णय समेत गरेका छन् ।

आफूहरुसँग छलफल नै नगरी नागरिक उड्डयन प्राधिकरणले उडान रोकिरहेको संघले जनाएको छ ।

आफूहरुको माग पूरा नगरे टिकट काटेका यात्रुलाई पैसा फिर्ता गरेर भए पनि वायु उडान अवतरण स्थगित गर्ने उनीहरुले बताएका छन् ।

संघले ल्यान्डिङ, नेभिगेसन लगायतका शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिकोप्टर संचालनका लागि दीर्घकालिन रुपमा हेलिप्याड उपलब्ध गराउनुपर्ने र मर्मत सम्भारका लागि ह्यागर लगायतका भौतिक पूर्वाधारका लागि स्थान दिनुपर्ने, वेस पूर्ववत अवस्था कार्यान्वयनमा ल्याएर सेवा सञ्चालन गर्न पाउनुपर्ने, कालोसूचीबाट हटाउन पहल गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीकृति लिएर विभिन्न कम्पनीले हवाई सेवा सञ्चालनका लागि बनाएका संरचनालाई यथावत रुपमा प्रयोग गर्न दिनुपर्ने माग राखेको छ।

प्राधिकरणले काठमाडौँ बेस नरहेका हेलिकोप्टरको उडानमा रोक लगाएपछि हेलि एभरेष्ट, मनाङ, माउन्टेन, कैलाश, अल्टिच्युड, मुस्ताङलगायत काठमाडौं बेस पाएका ६ वटा कम्पनी बाहेकलाई काठमाडौँबाट उडान गर्न रोक लगाइएको छ ।

प्राधिकरणको निर्णयसँगै ६७ प्रतिशत जहाज काठमाडौँ बाहिरै राखेर उडान गर्नुपर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ट्राफिक कन्जेसन नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रावधान लागू गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । यो असार १३ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

यही निर्णयविरुद्ध वायु सेवा सञ्चालक आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *