छ महिनामा १२ पटक पेट्रोलियमको मूल्यवृद्धि

हनोई । भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
विश्व बजारमा पटक पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले आफ्नो देशमा पनि मूल्य वृद्धि गर्नु परेको उनीहरूको भनाई छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ।
मङ्गलबारदेखि, आरओएन९५ बायो-इंन्धनको मूल्य प्रति लिटर ४९८ भियतनामी डोङ्ग (लगभग ०.०२२ अमेरिकी डलर) ले बढाएर ३२,८७३३ भियतनामी डङ्ग (१.४१ डलर) को रेकर्ड-उच्चमा पुगेको छ। इ५ आरओएन९२ पेट्रोलको मूल्य १८५ भियतनामी डङ्ग (०.००८ डलर) र डिजेल तेलको मूल्य ९९९ भियतनामी डङ्ग (०.०४३ डलर) ले बढेको छ ।
देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।
महङ्गो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ । पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ । -सिन्ह्वा








