‘यादकाे सन्दुक’ सार्वजनिक, दिपा भन्छिन्- ‘बिरानाे मुलुककाे यादलाई कवितामा समेटेँ’

काठमाडाैँ । कवि दिपा मेवाहाङ राईको कविता सङ्ग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएकाे छ । यादकाे सन्दुक साेमबार काठमाडाैँकाे मण्डला नाटकघरमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे हाे । लेखकहरू विप्लप प्रतीक, बिना थिङ, पशुपति राई, अर्पण उत्कर्षलगायतले सार्वजनिक गरेकाे सङ्ग्रहबारे उनीहरूले आ-आफ्नाे धारणासमेत राखेका थिए ।

यादकाे सन्दुकबारे बाेल्दै कवि प्रतीकले कविताहरू प्रेमिल भएकाे उल्लेख गर्दै भने, ‘प्रेमका विविध पक्षलाई दिपाले सरल भावमा प्रस्तुत गरेकी छन् । याेचाहिँ यसकाे राम्राे पक्ष हाे ।’ कवि थिङले कुनैखाले वादहरूभन्दा माथि उठेर कविता लेखेको भन्दै कवि दिपाकाे प्रशंसा गरिन्, भनिन्— ‘कवितामा कसैलाई प्रहार गरिएको छैन । कुनै वादहरू मिसाइएको छैन । वादहरूभन्दा माथि उठेर दिपाले कविता लेखेकी छन् ।’

||यादकाे सन्दुक कविता सङ्ग्रह सार्वजनिक कार्यक्रम। तस्बिर ||

यसैगरी कवि राईले कविताहरू सरल र हृदय छुने भएकाे बताइन् । ‘कविताहरूमा सम्बन्धहरूलाई जाेड दिइएकाे छ,’ उनले भनेकी छन्, ‘मानिससँग सम्बन्ध जाेडिन्छ । सम्बन्धलाई स्वीकार्न सक्नुपर्छ । कविताहरूले याे विषयलाई स्वीकारेकाे छ ।’ यस्तै कवि उत्कर्षले यादकाे सन्दुक साहित्यिक आन्दाेलनकाे एउटा नयाँ आयाम भएकाे बताए । ‘कविता सङ्ग्रहमा लामा कविताहरू छन्, छाेटा कविताहरू पनि छन् । कविताहरू यस्ता छन् जसले मन, मुटु, मस्तिष्कलाई छुन्छन्,’ उनकाे भनाइ थियाे ।

यादकाे सन्दुकमा ४८ वटा कविताहरू समावेश छन् । दिपाकाे याे पहिलो एकल कृति हाे । यसअघि संयुक्तरूपमा ‘इतर कविता’, ‘छकालै’ लगायतका कविता सङ्ग्रह प्रकाशनमा छन् ।

‘बिरानाे मुलुककाे यादलाई कवितामा समेटेँ’

कवि दिपा विगत ४ वर्षयता दक्षिण काेरियामा कामकाे सिलसिलामा छिन् । साहित्यिक मनकी उनी कामसँगै कविताहरू काेरिरहन्छिन् । यसैगरी बेलाबखत काेरिएकाे कविताहरूकाे सङ्ग्रह यादकाे सन्दुक रहेकाे बताउँछिन् । ‘देश, घर, परिवार अनि आफन्तदेखि पर बिरानाे मुलुकमा हुँदा यादहरूबाहेक केही हुँदैनन्,’ उनले भनिन्, ‘यी नै यादहरूबाट बनेका कविताहरूलाई यादकाे सन्दुकमा समेटेकी छु ।’

यादकाे सन्दुकमा प्राय: गरेर सम्बन्ध अनि यादहरूका कविताहरू छन् । यही कारण सङ्ग्रहकाे नाम ‘यादकाे सन्दुक’ रहन गएकाे सुनाउँछिन् दिपा । ‘सङ्ग्रहकाे नाम के राख्ने भन्नेबारे आफैँ पनि साेचमग्न भएँ । त्यसपछि कविताहरू प्राय: सम्बन्धकै रहेकाे र यतिबेला आफूसँग याद मात्रै बाँकी रहेकाले सङ्ग्रहकाे नाम यादको सन्दुक राखाैँ भन्ने साेच आयाे,’ उनले भनेकी छन् ।

दिपाले ४८ कविताहरू लेख्न र त्यसलाई सम्पादन गर्न डेढ वर्षजति लागेकाे बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *