आपूर्ति व्यवस्था सहज बनाइराख्न मूल्यवृद्धि गरिएकाे आपूर्तिमन्त्रीकाे दाबी

काठमाडौँ । सरकारले आपूर्ति व्यवस्था सहज बनाइराख्न लागतअनुरूप नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्त्वका विषयमा जानकारी गराउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आइओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइराख्न लागतअनुरूप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थित निगमसामु देखिएको बताएका छन् ।
उनले मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब घाटा भएको तथा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई २२ अर्ब बक्यौता रहेको सदनलाई जानकारी दिए ।
उनले खाना पकाउन प्रयोग गर्ने एसपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युत्को खपत बढाउन विद्युत् महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने नीति दिएको बताए ।
उनले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रमको कार्यान्वयनमा तथा पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तामा आग्रह समेत गरे ।








