इखेनी बस्ती जहाँ भेटिन्छन् नाबालिग गर्भवती र आमा !

सुर्खेत । जिल्लाको बराहताल गाउँपालिका-६ मा पर्छ इखेनी बस्ती । शनिबार सुर्खेत महिला जेसिज-२०२२ को आयोजनामा उक्त बस्तीमा अल्ट्रासाउण्ड सहितको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा गर्‍याे । आफ्नो स्वास्थ्य परीक्षणका लागि इखेनीका नागरिकलाई शिविर राखिएको थियो ।

उक्त शिविरमा आफ्नो स्वास्थ्य परीक्षणका लागि एक उमेरले १८ वर्ष पुगेकी विनीता सुनार आइन् । विनीताको भिडियो एक्स-रे रिपोर्टमा उनको र शिशुको अवस्था सामान्य देखियो । डाक्टरले उनलाई क्याल्सियम खान भन्दै सुत्केरी हुने दिन समयमै अस्पताल जान सुझाए ।

विनीताले उमेर नपुग्दै विवाह गरेकी रहेछिन् । अस्पतालले विनीतालाई असार २२ गते सुत्केरी हुने मिति तोकेको रहेछ । कक्षा ९ मा पढ्दै गरेकी विनीताले एक वर्षअघि विवाह गरिन् । विनीता आफ्नो पहिलो सन्तानलाई जन्म दिने संघारमा छिन् । शुरूमा उनलाई डाक्टरले हजुरको उमेर कति भयो भनेर सोध्दा बोल्न मानिन् । बिस्तारै उनी खुलिन् र भनिन् ‘सानै उमेरमा विवाह गर्दा कारबाही हुन्छ भन्ने डरले उमेर खुलाउन नचाहेकी हुँ ।’

यस्तै, १९ वर्षीया अर्की किशोरी शान्ति सुनारले पनि एक सन्तानलाई जन्म दिइसकेकी छिन् । अहिले उनको महिनावारी रोकिएको छ । महिनावारी रोकिएको दुई महिना पुगेपछि उनी बच्चा रहे नरहेको जाँच गर्न आएकी थिइन । महिनावारी रोकिएसँगै पेट दुख्ने, रिंगटा लाग्ने आदि समस्या देखा परेपछि चेक गर्न आएकी शान्तिलाई पहिलो सन्तान सानै भएकाले दोस्रो सन्तान जन्माउन भने मन रहेन छ । उनको पनि स्वास्थ्य जाँच भयो गर्भ रहेको यकिन नभएपछि पिसाब जाँच गर्न डाक्टरले सल्लाह दिए ।

यस्तै, गत वर्ष कार्तिक महिनामा २० वर्षीया युवकसँग भागी विवाह गरेकी १६ वर्षीया सुक्मा कसेरा तल्लो पेट अत्यधिक दुख्ने, महिनावारी गडबडी हुने समस्या देखा परेपछि डाक्टरलाई देखाउन आएकी थिइन् । सानै उमेरमा विवाह गरेकी उनले डाक्टरसँग राम्ररी खुलेर समस्या दर्साउन सकिनन् । लाजले एकातिर टाउको फर्काएर बसेकी उनलाई डाक्टरले धक नमानी समस्या बताउन भनेपछि उनेले भनिन्, ‘डाक्टर साप मेरो तल्लो पेट सारै दुख्छ, खान मन लाग्दैन, रिंगटा लाग्छ ।’

शिविरमा पुगेका कर्णाली प्रदेश अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ललित जङ्ग शाहीले उनका कुरा सुनेपछि भिडियो एक्स-रे गरे । उनमा गर्भवती नभई ग्यास्ट्रिकको समस्या भएको रहेछ । खानामा सन्तुलन मिलाउन र तातो पानी धेरै खान सल्लाहसहित औषधी दिँदै डाक्टर शाहीले भने, ‘बहिनी तिम्रो उमेर सानै छ, बच्चा जन्माउने बेला भएको छैन, यहीँ उमेरमा बच्चा जन्मायौँ भने भोलि तिमीलाई नै समस्या हुन्छ ।’

डाक्टर शाहीको कुरामा टाउको हल्लाउँदै कसेराले हुन्छ सर भनिन् । बराहताल गाउँपालिका-६ को व्यूरेनीमा विवाह गरेकी कसेराका श्रीमान् २० वर्षका भए । उनी दैनिक ज्याला मजदुरीका लागि भारत जाने गर्दछन् ।

विनीता, शान्ति र सुक्मा उमेर नपुगी आमा बन्ने गरेका बालिकाहरूका प्रतिनिधिमूलक पात्र मात्र हुन् । नेपालको संविधानले विवाहको उमेर हद २० वर्ष तोकेको छ । २० वर्षभन्दा कम उमेरका बालबालिकाले राजीखुशी विवाह गरे वा कसैले गराई दिए कानून बमोजिम कारबाही हुने व्यवस्था छ । तर, पनि बालविवाह भने रोकिन सकेको छैन । राज्य तथा विभिन्न गैर सरकारी संस्थाले बालविवाह न्यूनीकरणका लागि बर्सेनि सचेतना मूलक कार्यक्रमका नाममा करोडौँ रकम लगानी गर्दछन् । नारामा मात्र सीमित हुने बालविवाह विरुद्धका अभियान शहर केन्द्रित हुँदा ग्रामीण भेगमा भने अन्धविश्वास, कुरीति, कु–संस्कारको जालोमा परेका बालिकाहरू पीडित बन्ने गरेका छन् ।

ग्रामीण भेगका बालिकाले बालविवाहले निम्त्याउने समस्याका बारेमा सचेतनासमेत पाउँदैनन् । अशिक्षा, बढ्दो बेरोजगारीकै कारण सयौँ बालिकाहरू उमेर नपुगी विवाह गर्न बाध्य बनेका छन् । जसले बालिकाहरूको स्वास्थ्य, शिक्षामा प्रत्यक्ष असर त परेकै छ, राज्यको करोडौँ लगानी बालुवामा पानी बन्ने गरेको उदाहरण उल्लेखित घटनालाई लिन सकिन्छ ।

उल्लेखित तीन बालिकालाई उमेर नपुगी विवाह गर्नु हुन्न भनेर थाहा छैन ? भन्ने प्रश्न गर्दा उनीहरूको जवाफ थियो, ‘छैन तर, कारबाही हुन्छ भन्ने सुनेका छौँ ।’ बालिकाहरूको यो जवाफले राज्यको ध्यान ग्रामीण भेगका विपन्न बस्तीहरूमा नपुगेको भान हुन्छ । बालविवाहकै लागि गरिने कार्यक्रममा न बालिका समावेश हुन्छन्, नत उनीहरूलाई बालविवाहविरुद्ध कुनै सचेतनामूलक कार्यक्रममा समावेश गराइएको पाइन्छ ।

यो बस्तीका प्राय महिलाहरू गर्भवती हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्दैनन् । स्वास्थ्य जाँचका लागि दिनभर हिँड्नु पर्ने बाध्यताका कारण पनि गर्भवतीहरू अस्पताल नगई घरमै सुत्केरी हुने गरेका छन् । गर्भ रहेको दुई महिनापछि मासिकरुपमा नियमित आमा तथा शिशुको स्वास्थ्य जाँच गर्नु पर्दछ । आमा तथा शिशुको स्वास्थ्य अवस्था, गर्भावस्थामा चाहिने पौष्टिक आहार, अपनाइनु पर्ने सावधानी लगायतका जानकारी नियमित लिनुपर्ने हुन्छ ।  यदि यसो नगरिएको खण्डमा आमा तथा शिशुको ज्यानै जाने खतरा हुने डाक्टरहरू बताउँछन् ।

उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ शाहीका अनुसार अस्वस्थ व्यक्तिगत खानपान, सरसफाइको अभावले महिलाहरूमा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारी गडबडी लगायतका समस्या देखा पर्ने बताए । ‘अल्टासाउण्डको सुविधा पाइने भएर पनि होला जाँचका लागि गर्भवती महिलाहरू पनि आउनु भएको थियो । सामान्य रूपमा हामीले उहाँहरूको स्कृनिङ्ग गर्‍याैँ,’ शाहीले भने, ‘उहाँहरूको पाठेघरमा पानीको मात्रा घटेको, कसैको च्यातिएको तथा गर्भवती हुने समय भएको तर बच्चा उल्टो परेको पाइएपछि प्रदेश अस्पतालमा आउन सल्लाह दिएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *