विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने महामन्त्रीद्वयको भनाइ

काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था गराउन महामन्त्रीद्वयले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री देउवालाई भेटेर विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनुपर्ने प्रस्ताव राखेका हुन् ।आज सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर थापा र शर्माले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको थालनी कांग्रेसकै नेतृत्व भएको समयमा शुरू गर्नुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले मत हाल्न पाउने व्यवस्था मिलाउन सरकारले पहल लिनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । सर्वोच्चले फैसला गरेको लामो समय भइसकेको भन्दै कांग्रेस नेतृत्वको सरकारले सो फैसलाको कार्यान्वयन चाँडोभन्दा चाँडो गर्नुपर्ने उनीहरूको भनाइ छ ।

महामन्त्रीद्वयले यही विषयमा ध्यानाकर्षण गराउन भोलि मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्दैछन् । केही दिनअघि गैर-आवासिय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको एक कार्यक्रममा पनि विदेशमा रहेका नेपालीहरूको मताधिकारको विषयमा कुरा उठेको थियो ।

सर्वोच्च अदालतले जुनसुकै क्षेत्रमा बसेको भए पनि नेपालीले नेपालको संसदीय एवं प्रदेशसभा निर्वाचनमा मत दिन पाउनु उसको संवैधानिक अधिकार भएको फैसला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *