इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्योः पद्मा अर्याल

काठमाडौँ । आज सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद पद्मा अर्यालले इन्धनमा चरम मूल्यवृद्धि गरिएकोमा आपत्ति व्यक्त गरेकी छन् ।

नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै सांसद अर्यालले आपत्ति प्रकट गरेकी हुन् । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको भन्दै अर्यालले मूल्यवृद्धिका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको औंल्याएकी छन् ।

बैठक शुरू भएलगत्तै नेकपा (एमाले)की सांसद अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाएकी हुन् । उनले भनिन्, ‘पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको हो ? नागरिकको ढाड सेकिने गरी इन्धनमा मूल्यवृद्धि भइरहेको छ ।’

छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको भन्दै उनले भनिन्, ‘यो हेर्दा सामान्य रूपमा मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउनेछ, यो जनतालाई निराश बनाउने काम गरिएको छ ।’

मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने सांसद अर्यालले जिकिर गरेकी छन् । सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिए ।

हिजो आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु. १९९ बराबर पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *