‘एसपीपी फिर्ताबारे गठबन्धनमा छलफल भएकाे छैन, कांग्रेस-माओवादीकाे आग्रहपछि मन्त्रीहरूकाे शपथ राेकियाे’ (भिडिओसहित)

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपालले मंसिरमा चुनाव गर्नेगरी छलफल भइरहेकाे बताएका छन् । आइतबार पत्रकारहरूसँगकाे भेटघाटका क्रममा उनले यस्ताे बताएका हुन् । ‘आज बिहानको छलफलमा निर्वाचनको तयारीमा जुट्नुपर्ने कुरा भएको छ । संघीय र प्रदेश सभाको निर्वाचन ६ महिनाभित्र निर्वाचन हुन्छ । मंसिर महिनालाई आधार मानिरहेका छाैँ । अहिलेदेखि नै छलफल चलाउनुपर्ने आवश्यकता छ । त्यसमा उम्मेदवार र सिट बाँडफाँटका विषयमा,’ उनले भनेका छन् ।
कांग्रेस-माओवादीले भनेपछि नयाँ मन्त्री शपथ राेकियाे
अध्यक्ष नेपालले कांग्रेस र माओवादी केन्द्रले भनेपछि आफ्ना नयाँ मन्त्रीहरूकाे शपथ राेकिएकाे बताएका छन् । ‘हामीले मन्त्री परिवर्तन गर्ने निर्णय गर्याैँ । हामीले अहिलेका मन्त्रीहरू पठाउँदा पनि ६ महिनाकै लागि मात्रै पठाएका थियाैँ । अहिले ८ महिना भइसकेकाे थियाे । त्यही भएर हामीले परिवर्तन गरेका हाैँ,’ उनले भनेका छन् ।
उनले कतिपय मन्त्रीहरूले ६ महिनाकै लागि पठाएकाे बताएकाे उल्लेख गर्दै भने— ‘ती मन्त्रीलाई विशेष धन्यवाद छ । मन्त्री फेर्ने कुरामा केही ढिलाे भयाे । कांग्रेस र माओवादीका साथीहरूले हाम्राे पनि त्यस्तै माग आएकाे छ भन्नुभएकाे छ त्याे भएर ढिला भयाे । तर केही दिनभित्र हामीले मन्त्रीहरू फेर्छाैँ ।’
देशलाई ठिकठाक छैन
अध्यक्ष नेपालले देश ठिकठाक दिशामा चलिनरहेकाे स्वीकार गरेका छन् । ४ मन्त्रालयसहित सरकारमै रहेका उनले भनेका छन्, ‘देश ठिकठाक चलेकाे छैन । पत्रकार साथीहरूले भनेझैँ देश ठिकठाक चलेकै छैन । तर हामी चलाउनका लागि प्रयासरत छाैँ ।’
मूल्यवृद्धिका कारण जनताकाे ढाँड सेकिएकाे सरकारले देखेकाे छैन ? भन्ने प्रश्नमा उनले सरकारकाे बचाउ गर्दै भने, ‘तेलकाे मूल्य अझै बढ्नसक्ने भन्ने थियाे सरकारकाे । तर हामीले राेक्याैँ । बढ्न दिनु हुँदैन भन्याैँ ।’
प्रतिगमन हुन दिन्नाैँ
उनले प्रतिगमन हुन नदिने बताएका छन् । अहिलेकाे गठबन्धन प्रतिगमनकाे विरुद्धमा बनेकाे उल्लेख गर्दै भनेका छन्, ‘प्रतिगमन भनेकाे राजालाई ल्याउने कुरा हाे । याे किमार्थ सम्भव छैन । राजा ल्याउने कुरा अब हुँदैन ।
उनले सङ्घीयता समस्या नभएकाे जिकिर गरेका छन् । उनले भने— ‘समस्या भनेकाे काम गर्ने तरिकामा हाे । समस्या भनेकाे दृष्टिकाेणमा हाे । यसलाई नसुधारिकन हुँदैन । समस्या सङ्घीयतामा हाेइन ।’
एसपीपी फिर्ताबारे गठबन्धनमा छलफल भएकाे छैन
उनले एसपीपी फिर्ता लिनेबारे गठबन्धनमा छलफल नभएकाे स्वीकारेका छन् । ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसद्मा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन । छलफल भएकाे छैन,’ उनले भनेका छन् ।
उनले त्यसअघि भनेका छन्, ‘नेपाली सेनाले चिठी पठाउने कुरा कूटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कूटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन ? त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ ।’








