प्रधानमन्त्री समितिमा नआउनु ‘दालमे कुछ काला हे’ : सांसद शाक्य

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर समितिका सदस्य सांसदहरुले तीव्र आलोचना गरेका छन् ।
समितिको बैठकमा बोल्दै एमालेकी तर्फबाट सांसद सुजिता शाक्यले प्रधानमन्त्री संसदमा उपस्थित नहुनुले ‘दालमा कुछ काला हे’(केही गडबढी छ) भन्ने उखानलाई चरितार्थ गरेको बताइन् ।
‘प्रधानमन्त्री नआउनुले दालमा कुछ काला हे भन्ने देखाएको छ,’ उनले भनिन्, ‘अहिले एसपीपी छ । बिगतमा यस्ता सम्झौता हुँदा छलफल भएको छ र ? भएको भए नेपाल डुबानमा पर्दैनथ्यो अहिले ।’
एमसीसीपछिको अर्को हस्तक्षेप एसपीपी भएको उनले बताइन् ।
‘यो सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउने प्रयास,’ उनले भने, ‘हस्तक्षेपको च्याप्टर क्लोज हैन ओपन भएको छ एमसीसी एसपीपी । एसपीपीको १० बुदे मस्यौदा हेर्दा यहि बुझिन्छ ।’
सांसद सुदन किराँतीले एसपीपीमा सहभागी नहुने जानकारीसहति अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई समितिले निर्देशन दिनुपर्ने बताए ।
सांसद शेख चाँदताराले समितिमा प्रधानमन्त्री अनुपस्थित हुँदा खल्लो भएको बताइन् ।
सांसद राम कार्कीले प्रधानमन्त्रीले प्रतिनिधि भने पनि पठाएको भए हुने बताए ।
‘एमसीसी ब्याख्यात्मक घोषणा गरेर पास गर्यौँ,’ उनले भने, ‘अहिले एसपीपी छ । अरु धेरै आउँछन् । कति थेग्छौँ हामी ? सबै देश समान भनेको बलियो र निर्धो अथवा बाछोलाई हल बाँधिदिनु जस्तै हो । समान त हो किनभने एउटै जुवामुनी हुन्छ तर बलियो गोरुसङ जुवामा हुँदा निर्धोले जुन सकस भोग्छ त्यही अहिले नेपालजस्ता देशहरू भोगिरहेका छन् ।’









