गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार

काठमाडाैँ । रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ ।

गाउँपालिकाभित्रका मिर्गाैला प्रत्यारोपण गराएका, डायलायसिस गराइरहेका मिर्गाैला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचारमा सहयोगवापत उक्त रकम दिइने भएको हो । ‘यसका लागि गाउँपालिकाले सार्वजनिक अपिल गर्दै औषधोपचार खर्च प्राप्त गर्ने बिरामीको आवश्यक विवरण लिने कार्य सुरु गर्दैछौँ,’ लामाले भने ।

गाउँपालिकाबाट औषधोपचार खर्च प्राप्त गर्न व्यक्तिको अस्पतालले प्रमाणित गरेको गम्भीर प्रकृतिका रोग खुल्ने कागजात (अनुसूची १ अनुसार), औषधोपचार खर्च पाऊँ भन्ने व्यहोरोका निवेदन (अनुसूची २ अनुसार), बिरामीको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको दुईप्रति फोटोसहित सम्पर्क गर्न आह्वान गरिएको छ ।

‘औषधोपचार नपाई कोही पनि पीडामा बस्नु नपरोस् भन्ने उद्देश्यले तत्काल आफ्नो क्षेत्रका गम्भीर प्रकृतिका बिरामीलाई संघीय सरकारको निर्णयबमोजिम नै उक्त खर्च दिने तयारी गरेका हौँ,’ अध्यक्ष लामाले भने । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *