दुर्गा प्रसाईंले पाएको ‘सुनको लौरो’बारे अनुसन्धान शुरु

काठमाडाैँ । शनिबार नेपाल आएका संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्पद माक्तुम जुपा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई ‘सुनको लौरो’ उपहार दिए ।
योसँगै सुनको लौराबारेको विषयले चर्चा पाएको छ । धेरैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी सुनको लौरो भित्रियो भन्ने प्रश्न गर्नेका छन् । राजकुमार जुपाले सुनको लौरो ल्याएकोबारे अनभिज्ञ रहेको यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान शुरु गरेको छ । ‘उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको हो,’ भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले भने, ‘सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।’
भिभिआइपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहेपनि मापदण्ड विपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनको भनाई छ । भिभिआइपी आफैँ जिम्मेवार व्यक्ति हुने भएकाले चेक/जाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत उनले स्वीकारे ।
उपहार प्राप्तकर्ता व्यवसायी प्रसाईँले आफले राजकुमारबाट सुनको लौरो प्राप्त गरेको बताए । ‘राजकुमारबाट सुनको लौरो उपहार प्राप्त भएको छ । उपहार पाएको वस्तु कति मूल्य र कुन गुणस्तरको हो भन्नु उचित हुँदैन,’ उनले भने । आफूले प्राप्त उपहार परीक्षण नगरेको भन्दै प्रसाईँले सुनको लौरो सरकारलाई चाहिए उपहार दिन सक्ने बताए ।
प्रसाईँको निमन्त्रणामा राजकुमार जुपा शनिबार बिहान ८ः३० बजे फ्लाई दुबई- ५७१ को विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले राजकुमार जुमा कूटनीतिक पासपोर्टसहित अन्य पाँच जना सहयोगीसाथ साधारण यात्रुका रूपमा नेपाल आएको बताएको छ । उनी अन्तर्राष्ट्रिय टर्मिनलको अति विशिष्ट कक्ष हुँदै आन्तरिक उडानमार्फत झापाको चन्द्रगढी विमानस्थल प्रस्थान गरेका थिए । उनले त्यहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटिस्क्यान उद्घाटन गरे ।








