ऐतिहासिक चलचित्र ‘नालापानी’ तिहारमा रिलिज हुने

काठमाडौँ । नेपाली चलचित्र ‘नालापानी’को रिलिज मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने भएको छ ।

निर्देशक रिमेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेसल अवार्ड पाएको यो चलचित्रको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।

वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको निर्देशक अधिकारीले बताए । चलचित्रमा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्माण पक्षको भनाइ छ । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

प्राडा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्राडा. धनराज कुँवर, प्राडा त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्राडा. सुरेन्द्र केसी, पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइड डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस प्रालि, गंगा नारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतीले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ ।

‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *