ओलीकाे प्रष्टाेक्ति- ‘एसपीपीमा सहभागिताका लागि पत्र लेखिँदा मलाई जानकारी दिइएन’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसीप प्रोग्राम [एसपीपी] नेकपा एमालेकाे पालामा शुरू नभएकाे जिकिर गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिनेक्रममा ओलीले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिएको बताए ।
ओलीले सुशील कोइराला प्रधानमन्त्री भएको बेला रक्षामन्त्रीको हैसियतले एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर आग्रह गरेको बताए । २०७२ असोज ५ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाइएको र सैनिक हेडक्वार्टरले कार्तिक १० गते त्यस बेलाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेखेको आफूले जानकारी पाएको ओलीकाे भनाइ छ । त्यसक्रममा उनले भनेका छन्, ‘याे सिलसिला प्रचण्डकाे पालामा पनि चलेकाे देखियाे ।’
सामान्यतः सेनापतिले त्यसरी पत्र त्यसरी नलेख्ने भनाइ उनकाे थियाे । ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैँले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो,’ उनले भनेका छन्, ‘ओलीले भनेका छन्, ‘सेनापति आफैँले लेखेको रहेछ । त्याेचाहिँ थाहा भयाे जुन म प्रधानमन्त्री बन्दा थाहा थिएन । हाम्रो सरकार आएपछि गाइँगुइँ चल्यो । अमेरिकी सरकारको आइपीएससम्बन्धी ३८ पेजमा पछिल्लो पटक नेपाल र श्रीलङ्का पनि संलग्न रहेको उल्लेख गरेपछि हामीले कार्यदल बनायौँ । त्यसलाई हेरेर कहाँबाट भयो,हामी भएका छैनौँ । जाने कुरा पनि आउँदैन । हाम्रो नीति पनि छैन भन्यौँ ।’








