प्रदेश १ मा युरिया मलको हाहाकार

विराटनगर । प्रदेश १ मा सरकारले युरिया मल उपलब्ध गराउन नसक्दा चरम अभाव देखिएको छ । सरकारले आफ्ना सरकारी एजेन्सी मार्फत खरिद गरेर वितरण गर्ने मलको अभाव हुँदा किसानले असारको पहिलो हप्ता जान लागिसक्दा पनि मल सहज रूपमा पाउन सकेका छैनन् ।

सहकारी मार्फत वितरण हुने युरिया मल अहिले कुनै सहकारीमा पनि सहज रूपमा पुग्न सकेको छैन । विराटनगर साल्टट्रेडिङ प्रदेश कार्यालयमा दैनिक ४० भन्दा बढी सहकारीहरू मलखादको लागि धाउने गरेको भएपनि मल नपाई फर्किनु पर्ने अवस्थामा रहेका छन् ।

सुन्दर हरैँचाका किसान रामकुमार चौधरीले बिउ राख्ने बेलादेखि युरिया मलको खोजी गरेको भएपनि अहिलेसम्म पाउन नसकेको सुनाए । ‘धेरै धाएँ तर कतै पनि मल पाउन सकिन’, उनले भने, ‘हामी पहुँच नहुनेले त खेती नगर्दा पनि हुनेभयो ।’ रासायनिक मल नहुँदा उत्पादन नै नहुने भएपनि रासायनिक मल पाउन समस्या रहेको उनले सुनाए । ‘बिउ राख्ने बेलामा पनि निक्कै समस्या भयो, अब केही दिन पछि रोप्ने बेला सुरु हुन लागेको छ, उनले भने, रासायनिक मल नहाली धान रोपौँ भने नफल्ने पिर, रासायनिक मल खोजौँ पाइँदैन ।’

अहिले युरिया मलको माग सबै तिरबाट आउने गरेको छ । अहिले साल्टट्रेडिङ र कृषि कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल खोज्दै आउने किसान समूह र सहरकारीहरूको संख्या ठूलो छ । सुनसरी मोरङ जिल्लाका मात्र हैन पहाडी र हिमाली जिल्लाबाट आउनेको संख्या उल्लेख्य छ । साल ट्रेडिंगमा संखुवासभा, ताप्लेजुङबाट समेत सहकारीकर्मी आउँछन् ।

साल्टट्रेडिङ प्रदेश कार्यालय विराटनगरका प्रमुख नवीन झाले मल अभाव रहेको बताए । स्थानीय सरकारले सूचीकृत गरेका सहकारी मार्फत मल वितरण गर्ने गरिएको भएपनि मागको आधारमा मल वितरण गर्न नसकिएको उनको भनाई छ ।

अहिले किसानको मागको अनुपातमा ५ प्रतिशत मल पनि किसानले पाउन सकेका छैनन् । साल्टट्रेनिङमा अहिले पनि किसानलाई दिन युरिया मल छैन । पछिल्लो दुई दिनमा ४ हजार ४६ मेट्रिक टन डिएपी लोड भएकोमा अहिले कार्यालयमा ७५० मेट्रिक टन डिएपी आई पुगेको छ ।

यो भन्दा अघि आएको र अहिले आएको डिएपीले केही किसानको लागि सहज हुने भएपनि यसले मागको एक छेउ पनि धान्न नसक्ने साल्टट्रेडिङको दाबी छ । प्रदेश १मा युरिया र डिएपी मलको अत्यधिक माग छ । मागको आधारमा युरिया मल ल्याउने बारेमा अहिलेसम्म अन्योल नै देखिएको छ ।

कृषि सामाग्री कम्पनीमा ३४ सय मेट्रिक टन डिएपी मल आएको भएपनि युरिया आउने छाँटकाँट छैन । धान रोप्ने सिजनमा प्रदेशमा १ लाख ४७ हजार मेट्रिक टन युरियाको माग रहेको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा १ लाख ५ हजार मेट्रिक टन युरिया र ४३ हजार ८ सय ६५ मेट्रिक टन पोटासको माग छ । प्रदेश १ मा ५ प्रतिशत डिएपी आएको छ भने युरिया आउँदै आएको छैन । कहिले आउने भन्ने टुंगो पनि नरहेको मन्त्रालयका पदाधिकारीहरू बताउँछन् ।

यस्तो छ अवस्था

प्रदेशमा आर्थिक वर्ष २०७७/०७८मा ३ लाख ९० हजार ९ सय ६९ हेक्टरमा धान खेती भएको छ । प्रदेश १ मा धान खेती हुने क्षेत्रमा ९८ प्रतिशत रासायनिक मलको माग छ ।

प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सिनाले मल खरिद बिक्री गर्ने कुरा संघीय सरकारसँग जोडिएकोले प्रदेशले केही गर्न नसक्ने बताए । ठेकेदार कम्पनीले नै मल किन्न नसक्दा अहिले त्यसको असर किसानसम्म परेको उनको बुझाई छ ।

सरकारी अधिकारीहरू मल अभाव हुनुलाई रसिया–युक्रेन युद्धसँग पनि जोडेर हेर्ने गरेका छन् । ठेकेदार कम्पनीले मल ल्याउन नसक्दा देशमै रासायनिक मलको हाहाकार भएको उनको भनाई छ । ‘रासायनिक मलको मूल्य बढेका कारण पनि ठेकेदारले मल ल्याउन नसकेको देखिन्छ’, उनले भने । प्रदेश १ मा गत वर्षमा १५ लाख ९४ हजार ६४ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *