एकीकृत समाजवादीको मन्त्री हेरफेरमा किन ढिलाइ ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको सो पार्टीले निर्णय कार्यान्वयन गर्न नसकेको हो ।
पार्टीको आन्तरिक सहमतिका आधारमा ६ महिना कार्यकाल पूरा गरेका चार मन्त्रीलाई फिर्ता बोलाएर अर्को टीम पठाउने निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको हो । बुधबार सकिएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन गरेको थियो र नेताहरू बजेट पारित भएलगत्तै मन्त्री साटिने दाबी गरेका थिए ।
तर ‘संसद्बाट बजेट पारित भइसक्दा पनि एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णयलाई अगाडि बढाएको छैन । ‘बजेट पारित भएको छ, हामी मन्त्री हेरफेरको निर्णयबाट पछि हटेका छैनौँ,’ प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘आन्तरिक छलफल जारी छ । पश्चात् उचित समयमा नयाँ मन्त्रीहरू पठाउने छौँ ।’
सो पार्टीले गत जेठ २२ गते चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।
त्यसबेला नै प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास भएपछि मन्त्रीहरू हेरफेर गर्न सहमति जनाएका थिए । मन्त्रीहरूले पनि पार्टीले आफूहरूसँग छलफल नगरेरै एकाएक निर्णय बाहिर आएको प्रतिक्रिया दिएका छन् । उसो त मन्त्रीहरूले अनेक बाहानामा पार्टीको निर्णयलाई चुनौती दिएको भन्दै समाजवादीका नेता/कार्यकर्ता असन्तुष्ट छन् ।








