अरू देशको सेना नेपाल भित्र्याउने किसिमको कुनै सम्झाैता भएकाे छैन : सरकार

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अरू देशको सेना नेपाल भित्राउने किसिमको सम्झौताका विषयमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले मुलुक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले यस विपरीतको कुनै काम नगर्ने बताए । प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्वयनको प्रक्रियामा रहेको जिकिर गरे ।

मन्त्रीपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै, सरकारले राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई र तारागाँउ विकास समितिको अध्यक्षमा सुरेशराज जोशीलाई नियुक्त गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७८ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनाहा सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *