एमालेले गर्याे संसद् बहिष्कार (भिडिओसहित)

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।
बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लगाएको एमालेले सदनमा अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठक बहिष्कार गरेको हो ।
बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा उनले करको दर छलफल गरेरै निर्धारण गरेको बताएका थिए ।
उनले राजस्वको दरहरू परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रियाहरू रहेको र त्यसमा सम्बन्धित विभागीय प्रमुखहरू र सचिवहरू सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको समेत बताए । एमालेको अवरोधबिच जवाफ दिएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघातक भएको भए त्यसको जिम्मा आफूले लिने बताएका थिए ।
अर्थमन्त्रीको जवाफपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफ नसुन्ने बताए । उनले त्यस दिनको सिसिटिभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको बताए ।
उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप समेत लगाए ।








