एमालेले प्रतिनिधिसभा अवरुद्ध पार्ने
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चालु प्रतिनिधिसभा बैठक अन्तर्गत आजकाे बैठक अवरुद्ध गर्ने भएकाे छ ।
आजकाे बैठकका प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यक्रम रहेकाे छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यलयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
त्यस्तै, जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरिरहेको छ ।
एमालेका सांसदहरूले अर्थमन्त्री शर्माले जवाफ दिँदा संसद अवरुद्ध पार्ने भएका हुन् ।