अमेरिका : ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि

काठमाडौँ । अमेरिकामा करिब ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि घोषणा गरिएको छ । अमेरिकी केन्द्रीय ब्याङ्कले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको हो ।
फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १.५ प्रतिशतदेखि १.७५ प्रतिशतको दायरामा पुर्याउने बताएको छ । गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो तेस्रो यस्तो वृद्धि हो । योसँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ ।
बैठकपछि जारी गरिएको प्रक्षेपणले केन्द्रीय ब्याङ्कले ब्याङ्कहरूले सापटी लिँदा लिने शुल्कको दर वर्षको अन्त्यसम्ममा ३.४ पुग्न सक्ने अपेक्षा अधिकारीहरूले गरेको देखाएको छ । यो कदमका कारण धितोबन्धक, क्रेडिट कार्ड र अन्य ऋणका लागि सर्वसाधारणले उच्च लागतको सामाना गर्नुपर्ने हुन सक्छ । विश्वभरका केन्द्रीय ब्याङ्हरूले यस्तै खाले कदम चाल्नसक्छन् र त्यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
एप्रिलमा उपभोक्ता मूल्य ९ प्रतिशत बढेको यूकेमा ब्याङ्क अफ इङ्गल्यान्डले बिहीवार डिसेम्बरदेखि आफ्नो आधार दरलाई सन् २००९ पछि पहिलो पटक एक प्रतिशतभन्दा माथि धकेल्दै पाँचौँ वृद्धिको घोषणा गर्ने अपेक्षा गरिएको छ । ब्राजिल, क्यानडा र अस्ट्रिलियाले पनि ब्याजदर बढाएका छन् । युरोपेली केन्द्रीय ब्याङ्कले पनि यसपालिको गर्मीयामपछि त्यस्तै गर्ने योजना बनाएको छ । बीबीसी








