प्रत्येक जिल्लाको एउटा उत्कृष्ट विद्यालयलाई १० लाख पुरस्कार दिइने

विराटनगर । प्रदेश सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधारको लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको लागि ९ करोड ६५ लाख विनियोजन गरेको छ ।

सामुदायिक विद्यालय प्रोत्साहन गर्न प्रत्येक जिल्लाबाट एक एक वटा विद्यालय छनौट गरी प्रति विद्यालय १० लाखका दरले पुरस्कृत तथा प्रोत्साहन गर्न सरकारले बजेट विनियोजन गरेको छ । यस्तो पुरस्कार नतिजा र उत्कृष्ट व्यवस्थापनलाई आधार मानेर दिइने भनिएको छ । प्रत्येक जिल्लामा विज्ञान प्रयोगशालाको लागि २ करोड ११ लाख दिने बजेटले भनेको छ ।

जसलाई सरकारले विज्ञान शिक्षक अनुदान र प्रयोगशालाको लागि भनेर बजेटमा बोलिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङले प्रस्तुत गरेको बजेटले आगामी आर्थिक वर्ष प्रदेशलाई पूर्ण साक्षर बनाइने भनेको छ ।

प्राविधिक शिक्षामा लगानी, समृद्ध प्रदेशको बिहानी भन्ने नाराका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने शिक्षालय र विद्यालयहरूको भौतिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी प्रयोगात्मक र व्यवहारिक सिकाई सुनिश्चितता लागि ४ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । बेरोजगारीलाई रोजगारको अवसर प्रदान गर्न बजेट छुट्ट्याएको भनिएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेशको गौरवको शैक्षिक संस्थाको रूपमा विकास गर्न इन्जिनियरिङ र स्वास्थ्य विषयको स्नातक तहको अध्ययन प्रभावकारी बनाउन १७ करोड विनियोजन भएको छ । प्रादेशिक चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने भनिएको छ ।

सामुदायिक क्याम्पस सुदृढीकरण गर्नको लागि पुँजीगत तथा सञ्चालन अनुदानका लागि १० करोड ४५ लाख विनियोजन गरेको छ । स्थानीय तहसँगको साझेदारीमा सञ्चालित हुने प्रदेश स्तरीय नमुना विद्यालय, बाल मैत्री आधारभूत विद्यालय, व्यवस्थापन र सञ्चालन गर्ने कार्यका लागि ९ करोड ४५ लाख विनियाेजन गरिएको बजेट वक्तव्यमा भनिएको छ ।

प्रदेश १ को खेलकुद पूर्वाधार विकास, खेलकुद गतिविधि, खेलाडीको क्षमता विकास गर्न १५ करोड विनियोजन गरिएको छ भने इटहरी रंगशालामा फ्लड लाइट जडान गरिने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *