राप्रपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएकोमा संघीय राजधानी काठमाडौँमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई ज्ञापनपत्र बुझाएको हो । प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरू, महामन्त्रीहरूलगायतका नेताहरू थिए ।
राप्रपाले किसानलाई मल, बीउको आपूर्ति, महङ्गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।








