कैदी हरिजन आत्महत्या प्रकरण: छानबिन समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौँ । रोल्पा कारागारमा कैदी हरिजनले गरेको आत्महत्यामाथि छानबिन गर्न गठन भएको समितिले आज मंगलबार गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेस गरेका छन् ।

कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरूप कार्यान्वयनको प्रक्रियामा लगिने गृहमन्त्री खाँणले बताएका छन् । गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदनको अध्ययन गरी दोषी देखिएकामाथि कानुनी रूपमा कारबाहीको प्रक्रिया थालिने बताएका छन् ।

गृह मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पारिएको हो । घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए ।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालिन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध र्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ । प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न साफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताए ।

समितिले २०७७ मैसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटी तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *