कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

काठमाडौँ । शैक्षिक सत्र शुरू भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन ।

पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । “केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ”, शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने, “पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।”

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यवहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए ।“पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु भएन”, उनले भने, “कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ ।” कक्षा ४, ७ र ९ को कोर्स नै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनले बताए ।

शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । सुगमको क्षेत्र भए पनि पाठ्यपुस्तक नपुग्नु बिडम्बना नै भएको पूर्व शिक्षक शेरबहादुर भण्डारी बताउँछन् । “पाठयपुस्तक समयमै नपुगे विद्यार्थीले कसरी पढन सक्छन् । विद्यालयमा पढाएको कुरालाई घरमा दोहोर्याउनका लागि पाठ्यपुस्तक नै चाहिन्छ”, उनले भने, “पाठ्यपुस्तकको व्यवस्थाका लागि स्थानीय तहले पनि दायित्व वहन गर्नुपर्छ । त्यसो गरेको देखिदैँन ।”

पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्याय विद्यालयमा पढने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताउँछन् । “विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौंँ”, उनले भने, “जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तक नै पुर्याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पूरै सेट पुस्तक पाएका छैनन् । एक-दुई पुस्तकको अभाव नै रहेको छ ।”

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङख्या भने थोरै छ । कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहोर्याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ । “शिक्षकले विद्यालयमा मौखिक रूपमा पढाएका विषय घर आउँदासम्म बिर्सिसकेका हुन्छौँ”, कक्षा ९ मा पढदै आएका विद्यार्थी अजय चौधरीले भने, “पाठ्यपुस्तक भए पढन सजिलो हुन्थ्यो पाउन सकेका छैनौँं । कहिले पाइने हो पत्तो छैन ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्त भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गर्छन् । “कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन” उनले भने, “अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् । पाठ्यपुस्तक नै नपुगेका विद्यालयमासमेत छिटोभन्दा छिटो कसरी पाठ्यपुस्तक पुर्याउन सकिन्छ । त्यसका लागि काम अगाडि बढाएका छौंँ ।”

अपुग भएका २० हजार पुस्तक माग गरेको उनले बताए । “काठमाडौँबाट पुस्तक ल्याउनुपर्ने हुन्छ”, उनले भने, “बाढी पहिरोका कारण सडक ठाउँ-ठाउँमा अवरुद्ध हुँदा पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *