बर्खा लाग्यो: मनाङीको मनमा बाढीको त्रास

पोखरा । अघिल्लो वर्षको बाढीले मनाङ क्षतविक्षत भयो । जिल्लाभर ६१ घर पूर्ण क्षति भयो । ५० घरमा आंशिक क्षति भएको थियो । पूर्ण क्षति भएका घरमा स्थानीय र प्रदेशबाट पुनः निर्माणका लागि बजेट उपलब्ध भइसकेको छ ।

हालसम्म ३२ घरले राहत स्वरूप रकम लगेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार पूर्ण क्षति भएका घरमा सङ्घ सरकारले ५ लाख, प्रदेशले २ लाख र नासो गाउँपालिकामा पालिका सरकारले १ लाख सहित प्रति घर ८ लाखका दरले दिने निर्णय भएको छ ।

‘संघको राहत घर निर्माणको प्रगतिका आधारमा दिने हो । ३२ घरको सम्झौता भएर रकम गइसकेको छ,’ उनले भने, ‘अरू घरलाई सूचना गरेका छौँ । कतिपयले जग्गा नभएका कारण पैसा लिन सकेका छैनन् । घर बनाउने अवस्था पनि छैन ।’ आचार्यले जग्गा नभएका घरलाई भने थप ३ लाख रुपैयाँ जग्गा खरिदका लागि दिने बताए ।

तालगाउँ र सिरानतालको बस्ती तत्कालै सार्नुपर्ने विज्ञहरूले यसअघि नै सुझाव दिएका थिए । तर प्रतिवेदन नभएको भन्दै अहिलेसम्म स्थानान्तरण गरिएको छैन । ‘भौगर्भिक अध्ययनका आधारमा बस्ती स्थानान्तरण गर्ने भनेका थियौँ । अहिलेसम्म रिपोर्ट आएको छैन,’ उनले अघि भने, ‘तत्कालका लागि भएको बस्ती जोगाउन लागेका छौँ । ताल गाउँमा तीनवटै सरकारबाट नदी नियन्त्रणको काम गरेका छौँ ।’

मर्स्याङ्दी किनारका सबैजसो बस्ती अहिले जोखिममा छन् । सदरमुकाम चामे सहित पुरानो सदरमुकाम थोंचे, नासो गाउँपालिकाको केन्द्र धारापानी लगायत बस्तीमा पहिलेजस्तै बाढी आए गाउँ नै उठ्ने अवस्था छ । अघिल्लो बाढीमा क्षति पुगेका बस्तीका नागरिकहरु पुरानै घरलाई मर्मत गरेर बस्न थालेका छन् । स्कुल र सार्वजनिक कार्यालयहरू केही सुरक्षित ठाउँमा सारिएको छ ।

मनाङको पीडामा मलम लगाउन सांसद चिन्ताबहादुर घलेले प्रदेश सरकारसँग आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले काम गर्ने योजना बनाएपनि बजेट नपरेकोमा दुख व्यक्त गरे । ‘अघिल्लो वर्षको कार्यक्रममा पनि आएको थियो । तर काम भएन । अहिले पनि मनाङको बाढी प्रभावित क्षेत्रमा गुरुयोजनामा आधारित नदी नियन्त्रण गर्ने भनेको छ,’ उनले भने, ‘योजना ल्याएकोमा धन्यवाद तर धेरै ढिलो भयो । नीति तथा कार्यक्रममा राखेपछि बजेटमा पनि आओस् ।’

नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बजेटमै नसमेटिएसम्म काम गर्न नसकिने बताए । ‘कार्यक्रम मात्रै बनेर भएन, बजेट पनि प्राथमिकताका साथ आउनुप¥यो,’ उनले भने, ‘सधैँ अध्ययन र अवलोकन हुन्छ । काम हुँदैन ।’ बाढीले पालिकाको भवन सहित बैङ्क र प्रहरी चौकी पनि बगाएको थियो । अस्थायी भवनबाट कार्यालय सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *