कमल थापा भन्छन्- ‘राजसंस्था स्थापना सम्भव छैन’

पाेखरा. । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राजसंस्था स्थापना सम्भव नभएकाे बताएका छन् । नेपालमा गण्तन्त्र स्थापना भएपछि पनि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका थापाले अब भने राजसंस्थाको स्थापना सम्भव नभएको बताएका हुन् । साेमबार पाेखरामा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहकाे सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रूपमा परिचालित भयाैँ । तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन् दूरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

व्यक्तिगतरूपमा पूर्वराजाप्रति सम्मान भएपनि राप्रपा नेपालले राजसंस्थाको मुद्दालाई छोडिसकेको थापाको भनाइ छ । उनले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भन्दै आलाेना गरेका छन् । राजसंस्थासँग धेरैको गुनासो नभएपनि राजा बन्ने पात्रहरू सम्झिँदा अब सम्भव नभएकोले यो मुद्दालाई राप्रपा नेपालले छाडेको जिकिर थापाको छ । ढिलो चाँडो राजेन्द्र लिङ्देनलगायतका पनि राप्रपा नेपालको बाटोमा आउने दाबी थापाको छ ।

यस्तै उनले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय संरचना बनाउनु पर्दछ,’ उनले भने,‘ राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्छ ।’

‘निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक’

पूर्वगृहमन्त्रीसमेत रहेका थापाले अहिलेको निर्वाचन प्रणाली पनि असफल भएको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरेका छन् । ‘७० वर्षसम्म संसदीय व्यवस्थालाई अवलम्बन गरियो, यसले राजनीतिक स्थायित्व कायम गर्न सकेन । आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्दछ,’ उनले भनेका छन् ।

अहिलेको निर्वाचन प्रणालीमा कमी कमजोरी, विकृति र विसंगति देखिएको, पैसाको चलखेल, सत्ता र शक्तिको दरुपयोग हुने गरेकाे दृष्टान्त सुनाउँदै उनले भनेका छन्, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त हुन्छ । प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचनबाट निर्वाचित संसद् र संसद्बाट निर्वाचित राष्ट्रपति हुने निर्वाचन प्रणाली नै आवश्यक परेकाे छ ।’

‘हिन्दू राष्ट्र बनाउन केन्द्रित हुन्छाैँ’

अध्यक्ष थापाले समयानुसार पार्टीले आफ्नो सिद्धान्त, अवधारणा र मान्यतालाई परिवर्तन गरेको दाबी गरेका छन् । उनले राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारिता सम्बर्द्धनवाद पार्टीको वैचारिक दर्शन हुने बताए । गणतन्त्र स्थापानापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने भनाइ थापाको छ । ‘गणतन्त्र स्थापनापछि नेपाल राज्यको इतिहास, हाम्रो धर्म, संस्कृतिको अवमूल्यन हुने गरी जुन भाष्य तयार गरिएको थियो, त्यो आपत्तिजनक छ,’ उनले भनेका छन् ।

उनले अब आफू र आफ्नाे पार्टी हिन्दू राष्ट्र बनाउने दिशामा लाग्ने बताए । ‘हाम्रो इतिहासलाई कंलकित गर्ने, सनातन धर्म संस्कृति, मूल्य मान्यतालाई अवमूल्यन गर्ने जुन किसिमको भाषा प्रस्तुत गरियो, त्यसको विकल्पमा सनातन धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै राष्ट्रको विकास गर्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढेको हाैँ,’ उनले भनेका छन्, ‘अब हिन्दू राष्ट्र बनाउने दिशमा नै केन्द्रित भएर लाग्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =