बजेट निर्माणमा अनधिकृत व्यक्तिले करकाे दर हेरफेर गरेकाे भन्दै एमालेले सरकारसँग माग्याे जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरिएको समाचार सञ्चारमाध्यममा आएको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाए । पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनीयता भंग गरिँदैन भन्ने शपथ खाने गरेको भन्दै अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको जिकिर गरे ।
उनले अन्धाधुन्ध रूपमा करको दायरामा गरिएको हेरफेरले मुलुकका स्वदेशी उद्योगहरू धरासायी अवस्थामा पुगेको बताए ।








