विपद् प्रतिकार्यको पूर्वअभ्यास: भेरी नदीमा बगेका दुईजनाको सेनाद्वारा यसरी उद्धार (तस्वीरहरू)

सुर्खेत । आइतबार दिउँसो दुईजना भेरी नदीमा बगिरहेका हुन्छन् । स्थानीयलाई उद्धारको गुहार माग्छन् । नदीको गहिरो बहावमा उनीहरू बचाइदिन हात हल्लाउँदै कराइरहेका हुन्छन् । तत्कालै उनीहरूको उद्धारमा सुरक्षा निकायका टोली परिचालन हुन्छ ।

नेपाली सेना र सशस्त्र प्रहरीले डुंगाको सहायताले उनीहरूलाई नदीमा बचाउन जान्छन् । उनीहरूको तत्काल प्राथमिक उपचारदेखि आवश्यक थप उपचारका लागि बाहिर लैजान तयारी अवस्थामा एम्बुलेन्स राखिएको हुन्छ । नदी किनारामै उद्धार गरिएकालाई नेपाल प्रहरी र रेडक्रसको टोली उपचारस्थलसम्म लैजान स्टेचरसहित तयारी अवस्थामा रहन्छन् ।

दुईजनाको उद्धार गरेलगत्तै नदीमा फेरि दुईजना युवा बगिरहेका हुन्छन् । सेना र सशस्त्रको टोलीले विपदको बेला स्थानीय स्रोत साधानबाट बनाइएका उद्धारका सामग्रीबाट उनीहरूलाई बचाउँछन् । तर, एकजना नदीको मध्यभागमा रहेकाले बाढीको उच्च बहावका कारण बचाउन समस्या हुन्छ ।

त्यहीबेला पुलबाट सशस्त्र प्रहरीका दुईजना डोरीको सहायताले नदीमा हाम फाल्छन् । मद्दतका लागि सेना र सशस्त्रको अर्को टोलीले डुंगा लिएर उद्धार गर्छन् । उनी दुवैजना बाँच्न सफल हुन्छन् ।

यस वर्षको मनसुन पनि नजिकिँदै गरेको छ । कर्णालीका हिमाली जिल्लामा पहिरो र सुर्खेत जिल्लामा बाढीपहिरोको प्रकोप जाने गरेको छ । यसै क्रममा माथि उल्लिखित परिदृश्यमा विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले मनसुन शुरू भएसँगै विपदको समयमा हुनसक्ने सम्भावित घटनामा कसरी उद्धार गर्ने भनेर आयोजना गरिएको पूर्वअभ्यास हो ।

करिब दुई घण्टासम्म सुर्खेतको लेकबेसी नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा सुरक्षा निकायका तीनवटा टोलीले विपद् समयमा उद्धारका लागि पूर्व तयारी गरेका हुन् । विपद् जानकारी दिएर नआउने भएकाले आपतमा परेकाहरूको उद्धार कसरी गरिन्छ भन्ने विषयमा स्थानीय तह र नागरिकहरुलाई जानकारी दिन कार्यक्रम गरिएको हो ।

पूर्वअभ्यास कार्यक्रममा विपद्को समयमा आवश्यक स्रोत साधन नभएको बेला स्थानीय स्तरमा पाइने सामग्रीबाट पनि उद्धार गर्न सकिने कौशलता सशस्त्र, सेना र प्रहरीले देखाएका हुन् ।

आपतको समयमा प्रविधियुक्त डुंगा नभएमा पानीका बोतल, केरा, डोरी, गाडीको ट्युबलगायतका साधनबाट नागरिकहरूलाई बचाउन सकिने उत्कृष्ट कला सुरक्षा निकायका तालिमप्राप्त टोलीले देखाएका हुन् । उद्धार गरेपछि विवरण संकलन, प्राथमिक उपचार, राहत वितरण र गम्भीर प्रकृतिका घाइतेलाई एम्बुलेन्सबाट कसरी बाहिर लैजाने विषयमा स्थल नै बनाइएको छ ।

सुरक्षा निकाय, स्वास्थ्यकर्मी, रेडक्रस, स्थानीय तह र स्थानीयको सहयोग तथा समन्वयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन विपद् पूर्व अभ्यास कार्यक्रम गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

‘विपदको समयमा कसरी उद्दार गर्ने भन्ने अन्यौलता हुने भएकाले हाम्रो आवश्यक पूर्व तयारीमा कस्तो छ भन्ने बुझ्न पनि कार्यक्रम गरिएको हो,’ रिजालले भने, ‘विपद पूर्व जानकारी दिएर नआउने भएकाले त्यस्तो समयमा कसरी उद्दार टोली पठाउने र कस्तो काम गर्ने विषयमा स्पष्ट हुन विपद पूर्व अभ्यास गरिएको छ ।’

यस्तै, चिप्लेमा गरिएको पूर्व अभ्यास उद्दार कार्यले विपदको समयमा हुन सक्ने सम्भावित घटनामा छिटो र छरितो रुपमा उद्दारमा खटिन सहयोग पुग्ने रक्तकाली गण सुर्खेतका एसपी विमल डाँगी बताए । उनले भने, ‘हामीसँग जनशक्ति तयारी अवस्थामामै रहन्छ, तर उनीहरूलाई विपदको बेला कसरी खटाउने र उद्धारमा जाँदा अपनाउनु पर्ने विषयमा अभ्यस्त हुन सिकाउँछ ।’

तस्वीरहरू:





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *