हवाई जहाजको उमेर कति हो ?

काठमाडौँ । आकाशमा उड्ने जहाज कति वर्षमा पुरानो हुन्छ ? कति वर्षमा काम नलाग्ने हुन्छ ? वा हवाई जहाजको उमेर कति हो ? यो आम मानिसको मनमा उठ्ने साझा जिज्ञासा हो । साझा प्रश्न हो । अहिले सामाजिक सञ्जालमा समेत यो प्रश्न छ्यापछ्याप्ती भेटिन्छ । र, यसको जवाफ पनि सामाजिक सञ्जालमै भेटिन्छ ।

तर, सामाजिक सञ्जालमा आउने हरेक विषय वा तथ्यलाई पुनः परीक्षण (क्रस चेक, भेरिफाइ) नगरी विश्वास गर्नु घातक हुन सक्छ । सामाजिक सञ्जालमा आउने सबै तथ्यलाई हुबहु विश्वास गर्दा गलत ज्ञान सिकिने डर हुन्छ । सत्य भएको तथ्य सिक्नका लागि आधिकारिक व्यक्ति वा विशेषज्ञका कुरा तथा विश्वासिलो सामग्री वा समाचार सुन्नु पढ्नु आवश्यक हुन्छ ।

त्यसैले हामीले यो प्रश्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखाकी एरोनेटिकल इन्जिनियर तनुजा पोखरेल समक्ष राखेका छौँ ।

यस्तो छ एराेनेटिकल इन्जिनियर पोखरेलको जवाफ : ‘एक वाक्यमा भन्नुपर्दा जहाजको उमेर कहिल्यै सकिँदै वा बुढो हुँदैन । यसको कारण के हो भने जहाजको पार्टपुर्जा बिग्रिए पनि नबिग्रिए पनि कति घण्टा उडेपछि जहाजको कुन पार्ट फेर्ने भन्ने सबै कुरा जहाज उत्पादक कम्पनी र नियामक निकायले व्यवस्था गरेको हुन्छ । यसका लागि ‘एयरक्राफ्ट मेन्टिनेन्स म्यानुअल’ उपलब्ध छ । उक्त म्यानुअल पढ्ने हो भने सबै मानिसलाई धेरै विषयमा जानकारी हुन्छ । जहाजको जहाजको पार्टपुर्जा फेर्ने क्रममा यहाँसम्म कि जहाजको बडी, विंङ्स(पँखेटा)लगायत सबै पार्ट निश्चित समेत वा उडान अवधि पूरा गरेपछि फेर्नुपर्ने हुन्छ । यो सबै विषयमा नेपालको हकमा नागरिक उड्डयन प्राधिकरणले कडाइका साथ नियमन गरिरहेको हुन्छ । हरेक वर्ष जहाजको अडिट पनि गरिरहेको हुन्छ । अर्कोतर्फ जहाज उडाउने पाइलट तथा चालक दलका सदस्य समेत त्यही जहाजमा उड्ने भएकोले उहाँहरूबाट पनि कडाइका साथ नियमन र निगरानी भइरहेको हुन्छ । विश्वभर नै एक पटक किनेको जहाजलाई पुरानो भयो भनेर फ्याँक्ने चलन कुनै देशमा पनि छैन । पार्ट परिवर्तन गर्दै नयाँ बनाउँदै चलाउँदै जाने हो । त्यसो हुँदा जहाज पुरानो भयो भन्ने हुँदैन । पुरानो भएकै कारण दुर्घटना भयो भन्नु झनै उपयुक्त हुँदैन । यति हुँदा हुँदै पनि नेपालमा जहाज आयात गर्दा १५ वर्षभन्दा पुरानो जहाज आयात नगर्ने भन्नेसम्मको व्यवस्था नेपालको हवाई नीतिमा गरिएको छ । चलेका जहाजहरू पार्ट फेरिँदै नयाँ नै हुन्छन् । र, अब आउने जहाज पनि १५ वर्षभन्दा बढी अवधिको नहुने भएकोले जहाज बनेको अवधि वा उमेरकै कारणले नेपालको हवाई यात्रालाई असुरक्षित बनाएको छैन । बरु अझ सुरक्षित बनाएको छ ।’

जहाज किन बुढो हुँदैन ?
हामीकहाँ बुझाइमा कमजोरी कहाँ छ भने हामी सडकमा गुड्ने गाडीसँग आकाशमा उड्ने जहाजको आयुलाई दाँजेर तुलना गर्छौँ । नामै ‘वायुयान’ अर्थात् आकाशमा उड्ने यन्त्र । यसलाई सडकमा गुड्ने गाडीसँग दाँज्नै मिल्दैन । २० औँ हजार किलो भएको जहाज आकाश उड्नका लागि यसले विभिन्न परिधि, विधि र मापदण्ड कडाइका लागि पूरा गर्नुपर्छ । त्यस्तै, जहाज उडाउन पूर्ण नियन्त्रित र अनुगमनका कडिकडाउ सर्तहरू तोकिएका हुन्छन् ।

एटीआर विमान निर्माताले जहाज मोडलको आयु विभिन्न अध्ययन अनुसन्धान र परीक्षण गरी तय गरेका हुन्छन् । यसलाई थप पुष्टि र सुरक्षित गर्न विभिन्न अन्तर्राष्ट्रिय नियामक निकायले समेत विभिन्न चेकजाँच गरी प्रमाणपत्र दिएका हुन्छन् । वायुसेवा सञ्चालक कम्पनीहरूले विमान निर्माता कम्पनी तथा त्यस देशका अनुगमनकारी निकायले जारी गरेको निर्देशिकाको अक्षरशः लागु तथा पालना गर्नुपर्छ । अन्यथा दण्डका भागिदार बन्ने मात्रै होइन कि सेवा नै स्थगित गर्नुपर्ने हुन्छ ।

एटीआर विमानको आयु वर्ष समयमा होइन ‘चक्र’(साइकल) मा निर्धारण गरिएको हुन्छ । अर्थात् १ उडान, १ अवतरण बराबर १ चक्र । यो आयु धेरै उडान गरेको खण्डमा थोरै समयमा सकिन्छ भने कम उडान गरेको खण्डमा धेरै वर्ष टिक्छ । आयु सकिएपछि उक्त जहाजलाई उडान सेवाबाट वञ्चित गरिन्छ । कतिपय देशमा यसलाई नष्ट गर्ने चलन पनि छ ।

विमानभित्र हजारौँ पार्टपुर्जाहरू हुन्छन् । हरेकको निश्चित आयु तोकिएका हुन्छन् भने केहीको नबिग्रिन्जेलसम्म चलाउन मिल्छ । विमानलाई सुरक्षित र व्यवस्थित रूपले सञ्चालन गर्न निर्माता कम्पनीले तोके अनुसारको नियमित मर्मत सम्भार गर्नुपर्छ । बिग्रेको वा अवधि पुगेको पार्टपुर्जा मात्र फेरेर मात्र हुँदैन ।

आकाशमा उड्ने विमानको शरीर (फ्युजलास, बडी), पँखेटा, पुच्छर ठिक अवस्थामा छ कि छैन, यसलाई छोपेका पाताहरू र सयौँ हजारौँ पेँचकिलाहरु ठिक छ कि छैनन्, खिया लागेको छ कि छैन, भित्रका लाखौँ तारहरू, कडीहरू ठिक अवस्थामा छ कि छैनन् भन्ने चेकजाँच निर्माताले तोकेको समयमा सबै कुरा खुलाई सूक्ष्म तथा हस्तक्षेपकारी निरीक्षण भइरहेको हुन्छ । तर नेपालमा प्रेसराइज्ड नयाँ जहाज नै खोज्ने हो भने त्यो नेपाल वायु सेवाका दुईवटा ‘एमए ६०’ मात्रै रहेको छ ।

अर्कोतर्फ हामीले के याद राख्नुपर्छ भने आकाशमा एकै समयमा तपाइहामी जस्तै १० औँ लाख यात्रुले हवाई यात्रा गरिरहेका हुन्छन् । र विश्वमै हवाई यात्रालाई सुरक्षित र सहज यात्राको पर्यायवाचीकै रुपमा लिने गरिएको छ ।

ह्याङगरमा यसरी हुन्छ जहाजको मर्मत र रेखदेख
एटीआर जहाजको उडान व्यवस्थित गर्न समयमा मर्मत गर्न, पार्टपुर्जा फेर्न व्यवस्थित ह्याङगर आवश्यक हुन्छ । व्यवस्थित ह्यांगरमा जहाजको मर्मतसमेत व्यवस्थित हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै उदाहरण लिने हो भने हो बुद्ध एयरले करिब १० वर्षअघि २५ करोडको लगानीमा दक्षिण एसियाकै नमुना ह्यांगर निर्माण गरी सञ्चालनमा ल्याएको छ । उक्त ह्याङ्गरमा कम्पनीले एटीआर विमानको मर्मत सम्भार र निरीक्षण गर्ने सबै विशेष औजार राखेको छ । करिब ११२ करोडभन्दा बढीको जहाजका पार्टपुर्जा मौज्दात राखेको छ ।

विमान निर्माता कम्पनीले प्रमाणित गरेका प्रशिक्षक, तालिम प्राप्त र प्रमाणित दक्ष १९१ प्राविधिकहरूले मर्मत सम्भार रखराखवका लागि अहोरात्र खटिएका छन् ।

बुद्ध एयर सबै प्रकारका मर्मत सम्भार गर्न सक्षम रहेको बताएको छ । मर्मत सम्भारका लागि विदेश जानु पर्दैन । बरु विदेशी जहाजलाई पनि मर्मत सम्भारका सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले विगतदेखि नै विभिन्न कम्पनीका जहाज तथा विशिष्ट पाहुनाको जहाज रखरखावको कामसमेत कुशलतापूर्वक गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.