अछाममा किशोर हत्या प्रकरण : आफन्तले शव बुझे, जनप्रतिनिधिसहित १३ जनाविरुद्ध जाहेरी

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । शव भेटिएको ६ दिनपछि पोस्टमार्टम भएर बिहीबार उनका आफन्तले शव बुझेका हुन् ।

पीडित पक्षले दिएको १३ जनाविरुद्ध किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

यससँगै प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबी गरेका छन् ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ ।

अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ ।

मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् । विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो ।

राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ भने काँग्रेसले त्यसको खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *