‘दलित भएकै कारण’ गुरुकुलले भर्ना नलिएकाे विषय संसद्‌ पुग्‍याे, कारबाहीकाे माग (भिडिओसहित)

काठमाडाैँ । दलित भएकै कारण ललितपुरकाे जगद्‌गुरु आदर्श संस्कृत गुरुकुलले बालबालिकालाई पढ्नबाट वञ्चित गरेको खुलेकाे छ । याे विषयले संसद्‌मा समेत प्रवेश पाएकाे छ । बिहीबार बसेकाे संसद्‌ बैठककाे शून्य समयमा नेकपा (एकीकृत समाजवादी) की सांसद पार्वतीकुमारी विशुन्केले यसबारे बाेलेकी छन् । उनले यसकाे निष्पक्ष छानबिन गरी संविधानविपरीत जाने गुरुकुललाई कारबाहीकाे दायरमा ल्याउन मागसमेत गरिन् । उनले प्रश्न गरेकी छन्, ‘याे त नियाेजितरूपमा गरिएकाे जातीय विभेद भएन र ?’

यसअघि २०६९ सालयता सञ्चालनमा रहेकाे गुरुकुलले बर्दियाका ४ दलित बालबालिकाहरूकाे भर्ना लिएकाे थिएन । भर्ना हुने आउनेहरूमा १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, ९ वर्षीय भुवनेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनार थिए । उनीहरूलाई गुरुकुलमै राखेर जेठ २० गते प्रतबन्ध गरेपनि त्यसपछि थर खुलेसँगै ‘सिट छैन’ भनेर फर्काइएकाे थियाे । १८ गते काठमाडाैँ ल्याइएका उनीहरू विपन्न परिवारका सदस्यहरू हुन् ।

विश्व हिन्दू महासंघका दक्षिण एसिया प्रमुख एवम् समानता अभियानका अध्यक्ष चन्द्रकान्त पौडेलको सल्लाहमा ४ बालबालिकालाई संस्कृत पढाउन काठमाडौँ ल्याइएको थियो । गुरुकुलले ५० जना विद्यार्थीलाई संस्कृत पढाउँदै आएकाे छ । तर, यी ४ जना विद्यार्थीहरू आउँदा विद्यालयमा ३३ जनामात्रै विद्यार्थीहरू थिए । तैपनि विद्यालयले भर्ना नलिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *