आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट

नेपालले अन्तिम खेलमा मलेसियालाई हरायो

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २६ रनले पराजित गरेको हो ।

नेपालले दिएको ८७ रनको लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनाएको थियो । मलेसियाका लागि धनुश्री मुहूनानले सर्वाधिक २८ रन बनाएकी थिइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कृतिका मरासिनीले २ र मनीषा उपाध्यायले एक विकेट लिएकी थिइन् ।

यस अघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जलि विश्वकर्माले सर्वाधिक ३३ र आश्मा पुलामी मगरले २६ रन बनाएकी थिइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

योसँगै नेपाल विश्वकपमा छनौट हुने सम्भावना भने सकिएको छ । नेपालले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक बटुलेको छ ।

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *