वीरेन्द्रनगर कार्यपालिकाको निर्णय : ज्येष्ठ नागरिक र दीर्घ रोगीको निःशुल्क स्वास्थ्य बीमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका, नगर कार्यपालिका पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।

स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूको पहिलो बैठक जेठ–२३ गते बसेर विभिन्न १५ बुँदेमा गरिएका निर्णय बुधवार सार्वजनिक गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै नगर प्रमुख मोहनमाया ढकालले स्वास्थ्य सेवालाई प्रभावकारी गराई नागरिकमा सामाजिक सुरक्षाको अनुभूति गराउन ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घ रोगीको निःशुल्क स्वास्थ्य बिमा गरिने बत्ताइन् ।

उनका अनुसार बिमा गर्नु पूर्व उक्त व्यक्तिहरूको यर्थात विवरण लिई निश्चित मापदण्ड कार्यविधि तयार गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आउने छ ।

यस्तै, वीरेन्द्रनगर बजार क्षेत्रको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वडा समितिलाई पूर्णरूपमा जिम्मेवारी दिइने निर्णय गरेको छ ।

नगरपालिकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामक संस्थाले लिएको छ । फोहोरमैला संकलन, व्यवस्थापन र अनुगमन लगायतका कार्यको नेतृत्व अब सम्बन्धित वडाले गर्ने र अनुगमनका क्रममा कैफियत देखिएमा ठेक्का तोड्ने प्रक्रिया समेत अगाडी बढाउने निर्णय भएका छन् ।

यस्तै, म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान अन्तर्गत नगरको शैक्षिक स्तर अभिवृत्ति गर्न एक स्वेछिक शैक्षिक कोष स्थापना गर्नका लागि आवश्यक कानुन बनाई सोको प्रारम्भिक मस्यौदा पेस गर्न शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिने निर्णय नगरकार्यपालिकाले गरेको छ ।

यस्तै, नगर क्षेत्रका ज्येष्ठ नागरिक र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, ढल तथा नालाहरूको शीघ्र मर्मतका लागि तत्काल प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने, वीरेन्द्रनगर–११ भेरी पुल नजिकको प्रश्रान्ति धार्मिक वन क्षेत्रमा गौशालाको पूर्वाधार निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको लगत संकलन गरी उचित संरक्षण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय राजस्व परामर्श समिति र स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिलाई पूर्णता दिएको छ । राजस्व परामर्श समितिका सदस्यमा–७ का अध्यक्ष ध्रुवकुमार चपार्इं र कार्यपालिका सदस्य यमुना कुमारी नेपालीलाई मनोनयन गरेको भने बजेट सीमा निर्धारण समितिका सदस्यहरूमा कार्यपालिका सदस्यहरू रचना बाठा, सरिता चौधरी, नवराज गुरुङलाई मनोनीत गरेको छ ।

यस्तै, नगरकार्यपालिकाले वीरेन्द्रनगर नगरपालिकाको पूर्व स्वीकृति नलिई सडक अतिक्रमण गरी राखिएका निर्माण सामाग्री तुरुन्त हटाउन सर्वसाधारणले जानकारी पाउने गरी मौखिक एवं सार्वजनिक सूचना दुबैका माध्यमबाट जानकारी गराउने साथै उक्त निर्णयको अवज्ञा गर्ने व्यक्तिलाई स्थानीय प्रशासनको सहयोग लिई कानुनको दायरामा ल्याउने निर्णय गरेको छ ।

यस्तै, हावाहुरीले क्षति पु¥याएको विद्यालयका छाना तत्काल मर्मत गर्ने, वीरेन्द्रनगर नगरपालिका र पीआर कन्स्ट्रक्सन, भक्तपुरबिच वीरेन्द्रनगर–६ मा भएको सिटी बसपार्क उक्त क्षेत्रमा बनेका संरचना प्रयोग गर्ने गरी सम्झौता भएको दोस्रो पक्षले राजश्व भुक्तानी नगरी ठूलो परिमाणमा बक्यौता समेत बढ्दै गएकोले भन्दै नगरपालिकाले उक्त रकम असुल गर्नका लागि दोस्रो पक्षसँग अन्तिम पटक ताकेता गर्ने समेत निर्णय गरेको छ ।

साथै नगरपालिकाकाले तोक आदेशबाट योजना तथा बजेट वितरण गर्ने कार्य रोक्का गर्ने निर्णय गरेको ढकालले बताइन् । यस निर्णय अनुसार विभिन्न समिति तथा शाखाहरूबाट बजेट बाँडफाँड गर्ने अभ्यासलाई अन्त्य गर्दै कार्यपालिकाबाट योजना तथा कार्यक्रम स्वीकृत गरी बजेट खर्चमा एकद्वार प्रणाली अवलम्बन गर्ने प्रमुख ढकालको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *