आवधिक निर्वाचनकाे टुंगाे नलाग्दै उम्मेदवारी घाेषणाकाे लहर

काठमाडाैँ । सरकारले आवधिक निर्वाचनको मिति घोषणा नगर्दै उम्मेदवारी घोषणाको लहर चलेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव टुंगाे नलाग्दै संघीय राजधानी काठमाडौँमा उम्मेदवारी घोषणाकाे लहर लागेकाे हाे ।
सरकारले मंसिर वा फाल्गुनमा चुनाव गर्ने भन्नेबारे विमर्श गरिरहँदा राजधानीमा उम्मेवारी घाेषणा थालिएकाे हाे । अहिले खासगरी साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारीको घोषणा गर्न थालेका हुन् ।
उम्मेदवारीका क्रममा काठमाडाैँ क्षेत्र नम्बर १ बाट पुरार बमले उम्मेदवारी दिएका छन् । उनले केही दिनअघि स्वतन्त्र रूपमा उम्मेदवारी घाेषणा गरेका हुन् ।
त्यस्तै, स्थानीय निर्वाचनमा काठमाडाैँ महानगरबाट राम्राे मत हासिल गरेका सुमन सायमीले पनि संघीय निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनी काठमाडाैँकाे कुन क्षेत्रबाट चुनाव लड्ने भन्नेचाहिँ निर्क्याैल भइसकेकाे छैन ।
उता केही विवेकशील साझा पार्टीमा आफ्नाे राजनीतिक करियर अज्माएकी रञ्जु दर्शनाले पनि प्रतिनिधिसभा निर्वाचनमा काठमाडाैँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घाेषणा गरेकी छन् । उनले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछिन् ।
काठमाडौँ क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका श्रेष्ठले पार्टीले टिकट दिएमा पार्टीको तर्फबाट अन्यथा स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिने बताएका छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुत्री मानुषी भट्टराईले पनि काठमाडाैँबाट उम्मेदवारी दिने घाेषणा गरेकी छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन लागेकी उनले काठमाडाैँकाे ५ वा ७ बाट उम्मेदवारी दिने तयारी गरेकी छन् ।
उता काभ्रे २ बाट फिल्म निर्देशक मनोज पण्डितले संघीय निर्वाचनमा उठ्ने घोषणा गरेका छन् । उनले पूर्वमन्त्री गोकुल बास्कोटाको विरुद्ध उम्मेदवारी दिने बताएका हुन् ।








