अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया शुरू गर्न सभामुखको रुलिङ

काठमाडौँ । अछामको पञ्चदेव विनायक नगरपालिका–४ कुच्चीमा १७ वर्षीय विनोद शाहीको शंकास्पद मृत्युको घटनामाथि दोषी पत्ता लगाई कारबाही अघि बढाउन आजको संसद बैठकमा माग गरिएको छ ।

उक्त मागको सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले शाहीको मृत्यु प्रकरणको घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् । घटना घटेको ९ दिन बितिसक्दा पनि जाहेरी दर्तासमेत नभएकोमा एमाले सांसद यज्ञ बोगटीले आजको संसद् बैठकमा आपत्ति व्यक्त गरेका हुन् ।

गत जेठ १७ गते बेपत्ता भएका शाही जेठ २१ गते शनिबार बिहान मृत फेला परेका हुन् । स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएकै ठाउँमा शाहीको शव फेला परेपछि अछामको विनायक क्षेत्रमा तनाव सृजना भएको हो । घटनामा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएका छन् । मृतकका आफन्त एवं एमाले कार्यकर्ताहरूले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय समेत तोडफोड गरी नाराबाजी गर्दै सडकमा अवरुद्ध समेत गरेका थिए ।

गत साेमबार बसेकाे प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरू यज्ञबहादुर बाेगटी, रामबहादुर विष्टलगायतले त्यहाँका डीएसपी रवि थपलिया र सीडीओ विश्वराज मरासिनीलाई निलम्बन गर्नुपर्ने माग राखेका थिए । सांसद बाेगटीले सो घटनामाथि गृहमन्त्रीकाे ध्यानाकर्षण नभएकाे उल्लेख गर्दै भनेका थिए, ‘हाम्राे गृहमन्त्रीज्यू के हेर्दै हुनुहुन्छ ? त्यहाँ याेजनाबद्ध रूपमा एक १७ वर्षीय बालककाे हत्या भएकाे छ । सरकार केही हेर्दैन ।’

एमाले सांसदहरूले हिजो मंगलबारको बैठकमा पनि घटनामाथि गृह मन्त्रालयको ध्यानाकर्षण हुनुपर्ने भन्दै सोही माग राखेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि निरन्तर उही रुलिङ गरेको भएपनि आजसम्म पनि जाहेरी दर्ता नभएको एमाले सांसदहरूले बताएका छन्। साथै, मृतकको शव अझै घटनास्थलमै हुनु आपत्तिजनक भएको सांसद बोगटीको भनाइ छ ।

घटना घटेको केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *