अब नेपालमा रहेका भारतीयले विवरण दर्ता गराउनुपर्ने

काठमाडौँ । नेपालमा रहेका भारतीय नागरिकले अबदेखि अनिवार्य आफ्नो विवरण दर्ता गराउनुपर्ने भएको छ । भारतीय दूतावासले एक सूचना जारी गर्दै काठमाडौँस्थित दूतावासले कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले दर्ता गराउनुपर्ने भनेको हो ।
यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ । ‘नेपालमा बसोबास गरिरहेका भारतीय समुदायलाई काठमाडौँस्थित भारतीय दूतावासमा दर्ता हुन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।
दर्ताका लागि जाँदा राहदानी वा मतदाता परिचयपत्रको सक्कल प्रति समेत लिएर जान अनिवार्य गरिएको छ । नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई नेपालमा रोजगारी, सेवा वा अध्ययन गरिरहेको भए सम्बन्धित निकायबाट त्यसको पनि प्रमाण पेस गर्न भनिएको छ ।
साथै नेपालमा बसोबास गरिरहेको ठेगानाको समेत प्रमाण मागिएको छ । त्यसमा बिजुलीको बिल वा घरधनीबाट भाडामा बसिरहेको भन्ने जानकारी पत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
दर्ताका लागि साथै सेतो पर्दामा लिइएका दुईवटा पासपोर्ट साइजका फोटो अनिवार्य गरिएको छ । नेपालमा बसोबास गर्ने भारतीयहरू व्यापार, व्यवसाय तथा विभिन्न पेसा रोजगारीमा आबद्ध छन् । त्यसबाहेक ठूलो सङ्ख्यामा श्रमिकहरू भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।









