निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अघि बढाउन एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभाको कार्याव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमालेकी सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले महाअभियोगको प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।

२०७८ साल फागुन १ गते जबराविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्तावलाई अगाडि बढाउने क्रममा प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको थियो । तर, अझैसम्म महाअभियोग सिफारिस समितिमा नपठाइएको भनी प्रतिपक्षी एमालेले प्रश्न उठाएको हो ।

महाअभियोग सिफारिस समितिमा एमालेका चारजना, कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एकजना सांसद छन् ।

समितिमा एमालेका विष्णु पौडेल, शिवमाया ताम्बाहाङफे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित, कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *