गृह मन्त्रालयद्वारा बर्दिया घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ । गत सोमबार जंगली जनावरको आक्रमणबाट स्थानीयको ज्यान जाने क्रम बढेको भन्दै सुरक्षाको मागसहित प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न गृह मन्त्रालयले आज मंगलबार छानबिन समिति गठन गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका–२ मा जंगली जनावर बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै बर्दियामा प्रदर्शनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयवासीको प्रदर्शनलाई नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको प्रहरीले बताएको छ । सोही घटनामाथि छानबिन गर्नका लागि मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्कासहितको समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *