प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए-नभएकोबारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएकोबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिए । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे-नराखेको लगायतका विविध आर्थिक विषयमा अनुगमन गरी प्रतिवेदन ल्याउन महानिरीक्षक सिंहले निर्देशन दिएका छन् ।
टोलीलाई स्थानीय तह निर्वाचन, २०७९ मा बजेट सञ्चालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन-नियम तथा प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवं पारदर्शी ढङ्गबाट सम्पादन भएको नभएकोबारे अनुगमन गर्ने जिम्मेवारी छ ।








