मन्त्री फेर्दै एकीकृत समाजवादी, छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नाे पार्टीका तर्फबाट बनेका मन्त्री फेर्नेबारे छलफल गरेकाे छ । पार्टीका उपमहासचिव गंगालाल तुलाधरकाअनुसार आइतबार बिहान बसेकाे सचिवालय बैठकमा मन्त्री हेरफेरबारेकाे विषयले प्रवेश पाएकाे हाे । संघीय सरकारमा एकीकृत समाजवादीबाट राज्यमन्त्रीसहित ५ जना मन्त्री छन् । उनीहरूमै हेरफेर हुने बताइएकाे छ । ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियाैँ, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछाैँ । कति हेरफेर गर्ने भन्नेबारे भने शीर्ष नेताहरूले निर्णय गर्नुहुन्छ,’ तुलाधरले भनेका छन् ।
कतिपय मन्त्रीहरूले आफूलाई पदबाट हटाए पार्टी नै त्याग्ने चेतावनीसमेत दिइरहेका छन् ।
यसअघि गत असारमा सरकार गठन हुँदा मेटमणि चाैधरीलगायतका नेताहरू मन्त्री बन्ने लाइनमा थिए । तर आकांक्षी बढी हुँदा उनीहरूकाे नाम अन्तिम समयमा आएर काटिएकाे थियाे । स्राेतकाअनुसार पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठलगायतलाई मार्गप्रशस्त गर्न निर्देशन दिइने छ ।








