गठबन्धनभित्र अन्तरघातः विराटनगरको कार्यपालिकामा एमालेको एकल बहुमत

विराटनगर । नेपाली कांग्रेसको अन्तरघातसँगै विराटनगर महानगरपालिकामा एमालेको बहुमत पुगेको छ ।

कार्यपालिका निर्वाचनमा नेकपा एमालेका ६ जना सदस्य निर्वाचित भएका छन् । ६ जना एमालेबाट निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको एकल बहुमत पुगेको हो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । आज शनिबार भएको कार्यपालिका निर्वाचनमा एमालेबाट अल्पसंख्यकका उम्मेदवार एकजना र महिला उम्मेदवार ५ जना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। योसँगै, २९ सदस्यीय कार्यपालिकामा एमालेको संख्या १६ पुगेको हो ।

कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्णले ५२ मत ल्याए भने स्वतन्त्र ओमप्रकाशकुमार साहले ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । अल्पसंख्यकमा कांग्रेसका उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भएका छन् । महिलातर्फ सबै (पाँचजना) एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका कमला श्रेष्ठ, सन्तलीदेवी विश्वास, सरिता घिमिरे नेपाल, ताराकुमारी राय र खुश्बु विश्वकर्मा विजयी भएका छन् ।

नेपाली कांग्रेसका अन्जु दाहाल गौतम, गायत्री थापा, रूपा देउजा, विनितासिंह ठकुरी र जसपाकी चुलियादेवी साह पराजित भए । ९७ जना मतदाता रहेको कार्यपालिका निर्वाचनमा ५० मत रहेको कांग्रेस र जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन् । मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिका बन्नेछ । एमालेको उपमेयर, वडाध्यक्षसहित १६ जना भएका छन् ।

कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् । महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै, जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *