जनप्रतिनिधिले नमस्ते खाएर बस्ने हाेइन, जनताकाे काम गर्नुस् : अर्थमन्त्री

काठमाडाैँ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तर्क्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तर्क्रिया गरेका हुन् ।

सो अन्तर्क्रियामा रुकुमपश्चिमका नगरपालिका प्रमुख/उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य लगायतको उपस्थिति थियो ।

जनप्रतिनिधिलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे । “तपाईंंहरूले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्”, उनले भने, “स्थानीय जनतालाई ससाना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकता पूरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।”

उनले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र सङ्घले बनाउने पनि जानकारी दिए । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उनले निर्देशन दिए ।

“कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाईंहरू (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।”

सङ्घ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्याङ्कन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए ।

त्यस्तै प्रत्येक हप्ता जनताकाबीच गएर अन्तर्क्रिया, भेटघाट र सामिप्यता बढाउन उनले सुझाव दिए ।

मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीसँग छलफल गर्न, जनप्र्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सोभन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

छलफलमा जनप्रतिनिधिले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =