विभेदपूर्ण लिंग छनौट अन्त्य गर्ने सरकारको राष्ट्रिय रणनीति

विराटनगर । संघीय सरकारले विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति योजना कार्यान्वयनमा लगेको छ । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पालिकासम्म रणनीति योजना कार्यान्वयन गर्ने जनाएको छ ।

विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति बारेमा विराटनगरमा आयोजित प्रदेश स्तरीय कार्यशालामा लिङ्ग पहिचानको आधारमा हुने सोचको अन्त्य गर्नको लागि २०७८ देखि २०८८ सम्म १० बर्से रणनीति तयार गरेर मन्त्रालयले कार्यान्वयनमा लगेको मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले जानकारी दिए । विभेदपूर्ण लिंग छनौट अन्त्य गर्नका लागि मन्त्रालयले यो रणनीति कार्यान्वयनमा ल्याएको उनले बताए ।

केही तथ्य र सर्वेक्षणका आधारमा सरकारले विभेदपूर्ण लिंग छनौट अन्त्य गर्नु पर्ने निष्कर्षमा पुगेर १० बर्से रणनीति बनाएको छ । बालिका, किशोरी तथा महिलाहरूले सम्मानित, मर्यादित तथा अर्थपूर्ण जीवन व्यतीत गर्न सकुन् भन्ने उद्देश्य यो रणनीतिले लिएको मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीले बताइन् ।

प्रदेश र स्थानीय तहमा पनि समन्वय समिति बनाएर जाने बारेमा पनि रणनीतिक योजनामा उल्लेख गरिएको उनले जानकारी दिइन् ।

विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएनएफपिए र कृपाको समन्वयमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी नर्सिङ अधिकृत सोनालक्ष्मी कर्माचार्यले छोरा र छोरी बिचको खाडल कम गर्नको लागि राष्ट्रिय रणनीति निर्माण गरिएको बताइन् ।

लैंगिक समानता नीति हासिल गर्न, लिंगको आधारमा हुने विभेद अन्त्य, लिंग पहिचान गरी गरिने भ्रूण हत्यालाई कानुनले वर्जित गरेकोले त्यसलाई कार्यान्वयन गर्नु रणनीतिको मुख्य उद्देश्य रहेको उनले बताइन् ।

आगामी १० वर्षमा छोरा र छोरी बिचको सोच र व्यवहार तथा दृष्टिकोणलाई परिवर्तन गर्ने गरी राष्ट्रिय रणनीति कार्यान्वयनमा लग्ने मन्त्रालयको जोड छ । सरकारले जारी गरेको रणनीतिले छोरीको महत्त्वलाई बढाउने, लैङ्गिक समानताको सुनिश्चितता गर्ने र सशक्तीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *