कर्णालीका धेरैजसो विद्यालयमा पुगेनन् पाठ्यपुस्तक

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै हिमाली जिल्लाहरूमा यस अघिनै शैक्षिक सुरु भइसकेको छ । कर्णाली प्रदेशमा हरेक वर्ष विद्यार्थीलाई पाठ्यपुस्तकको अभाव हुने गरेको छ ।

हरेक वर्ष कर्णालीका हिमाली जिल्लामा पाठ्यपुस्तक समयमा पुग्दैनन् नै तर, प्रदेश राजधानी सुर्खेतको केही सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । प्रदेश राजधानी सुर्खेतमा नयाँ शैक्षिक सत्र सुरु भई विद्यालय खुलेको १२ दिन बित्दा पनि विद्यार्थीको हातमा भने परेको छैन ।

पाठ्यपुस्तक नभएपछि विद्यार्थीहरू हाजिर लगाएर घर फर्कने गरेको जनता माध्यामिक विद्यालय विद्यापुरका प्रधानाध्यापक मोतिराज जोशीले बताए । ‘विद्यालय खोलेको धेरै समय भइसक्यो तर, विद्यार्थीको हातमा पाठ्यपुस्तक नै छैनन्’, प्रधानाध्यापक जोशीले भने, ‘विद्यार्थी र शिक्षकहरू स्कुलमा आउँछन् ।’

अब पुराना किताबबाटै भए पनि विद्यार्थीलाई पढाउने उद्देश्यले संकलन गरिरहेका छौँ । किताब नहुँदा हाजिरी मात्रै लगाएर घर जाने गरेका छन् ।’ पाठ्यपुस्तक अभावमा अधिकांश विद्यार्थीले पुराना किताब मागेर पढ्दै आएका छन् ।

नयाँ पाठ्यपुस्तक नपुगेपछि विद्यार्थीले अघिल्लो कक्षामा प्रवेश गरेका विद्यार्थीसँग रहेका किताब माग्दै पढ्ने गरेका हुन् । नयाँ किताब पढ्ने रहर भए पनि साथी र छिमेकी विद्यालयका विद्यार्थीसँग रहेका पुराना किताब मागेर पढ्नुपर्ने बाध्यता विद्यार्थीसँग छ । सुर्खेतको हरि डिलभुमिमा कक्षा ७ मा अध्यनरत सपना विकले छिमेकी अंकलको छोरीको किताब मागेर पढ्ने गरेको बताइन् ।

‘नयाँ किताब पढ्ने रहर छ, रहर भएर मात्र के गर्ने किताब नै छैन। त्यही पुरानो किताब पनि तीन–चार जना साथीहरू मिलेर पढ्ने गरेका छौँ’, ‘उनले भनिन्, ‘सबैसँग किताब नहुँदा अहिले आधा पढेर मात्रै घर फर्कने गरेका छौँ ।’ राज्यको लापरवाहीले गर्दा नै विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउन नसकेको हुम्लाको सर्केगाड गाउँपालिका स्थित सरस्वती माध्यामिक विद्यालयका अध्यक्ष जोशी धामीले बताए ।

‘राज्यको लापरबाहीका कारण नै विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउन सकेका छैनन्,’उनले भने, ‘राज्यले निर्वाचनमा हेलिकप्टर मार्फत दुई घण्टामा मतपत्र पुर्याउन सक्ने, विद्यार्थीलाई पुस्तक दिन केले छेक्यो। भविष्यका कर्णदार विद्यार्थीहरूको भविष्य बर्वाद गर्ने छुट राज्यलाई छैन ।’

समयमा पाठ्यपुस्तक नहुनु, विद्यालयलाई कार्यकर्ताको भर्ती केन्द्र बनाउनु, आफैँले पढाउने विद्यालयमा आफन्त र छोराछोरी नपढाउनु जस्ता क्रियाकलापले सरकारी विद्यालयमा शिक्षाको गुणस्तर बढ्न नसक्ने माध्यामिक शिक्षक युनियन एसोशियसन (हिस्टुन)का कर्णाली प्रदेश कमिटी सदस्य डिल्लीराम सापकोटाले बताए ।

कर्णालीको पाठ्यपुस्तकको समस्या बारे पटक–पटक राज्यलाई ध्यानाकर्षण गर्दा पनि त्यसको सुनुवाइ नभएको शिक्षक संघ कर्णाली प्रदेशका महासचिव मक्कबहादुर बुढाले बताए ।

कर्णाली प्रदेशमा मागभन्दा किताब कमी भएको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीले स्वीकार गरे । उनले कक्षा ५,६ र ८ को किताब माग गरेको भन्दा ५० प्रतिशत कम भएको बताए । ‘अहिले कर्णाली प्रदेशमा विगतका वर्षभन्दा किताबको कमी भएको छ । विशेषगरी कक्षा ५,६ र ८ को किताब माग गरेको भन्दा ५० प्रतिशत कम आएको छ, ‘प्रमुख केसीले भने, ‘अन्य प्रदेशको भन्दा कर्णालीमा किताब पु¥याएकै छौँ । तर, पनि विद्यालयलाई स्थानीय तहले रकम ढिला दिनु, हिमाली जिल्लामा ढुवानीको समस्याले समयमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।’

कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा शैक्षिक सत्र फागुनमा नै सुरु हुन्छ । तर, शैक्षिक सत्र सुरु भएर परीक्षा हुनै लाग्दा पनि विद्यार्थीको हातसम्म पुस्तक नै पुग्दैनन् । संविधान र नीतिमा मात्रै निःशुल्क गरिएको कुरा कर्णालीमा हरेक वर्ष विद्यार्थीले पाठ्यपुस्तकमा झेल्दै समस्याले प्रस्ट बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *