डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : सरकारका प्रवक्ता कार्की

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौँमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
सरकारले यसलाई बढवा दिँदै आएको उनको भनाइ छ । उनले कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्ताबेज गर्दै नीति निर्माणमा समेत समेट्ने बताए । ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँ भरी कायम गर्नुपर्छ,’ मन्त्री कार्कीले भने ।
कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रूपान्तरण गर्नुपर्ने बताए । सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाईसँगै लिएर जानुपर्ने बताए । दूर दराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने मन्त्री कार्कीको भनाई छ ।
सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको उनले बताए । मन्त्री कार्कीले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको दाबी गरे ।








