हवाई उडानका लागि मौसम विभागले इनरुट पूर्वानुमानमा सहजीकरण गर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिरकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकार गर्दै आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ ।

प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम विज्ञान विभागलाई आग्रह गरिएको थियो ।

विभागका सूचना अधिकारी विभूति पोखरेलले प्राधिकरणको आग्रहबमोजिम स्रोतसाधन र जनशक्तिले भ्याएसम्म सहजीकरण गर्न विभाग तयार रहेको बताए ।

‘हामी सेवा सहजीकरणकै लागि बसेका हौं, हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म मौसमी सूचना व्यवस्थापन गर्छौं, हवाई सुरक्षाका लागि हामी पनि उत्तिकै गम्भीर छौं, प्रविधि र जनशक्तिले भ्याएसम्म मौसमी सूचना दिन प्रतिबद्ध छौं’, सूचना अधिकारी पोखरेलले भने ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *