प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा संघीय सरकारले बढायो बजेट

चितवन । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको भरतपुर महानगरपालिकामा आगामी आर्थिक वर्ष २०७९ र ८० को लागि संघीय सरकारले बजेट बढाएको छ । चालु आर्थिक वर्षको तुलनामा सरकारले भरतपुर १५ करोड भन्दा बढी बजेट बढाएको छ ।

वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा प्रचण्डपुत्री रेनु दाहाल नर्वाचित भएकी छन् ।

अध्यक्ष प्रचण्डको पहलमा अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरमा आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको तुलनामा केही बजेट बढाइएको हुनसक्ने जिल्लाका माओवादी केन्द्रका नेताहरूले दावी गरेका छन् ।

भरतपुर महानगरपालिकाले संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट पाएको छ । भरतपुर महानगरले पाएको यो बजेट चालु वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो ।

चालु आर्थिक वर्षको लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान बजेट पाएको थियो ।

अर्थमन्त्रालयले निकालेको सुचीअनुसार भरतपुर महानगरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । भरतपुरले १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको छ । वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ भरतपुरले पाएको छ ।

काठमाडौँ र पोखरापछि धेरै बजेट पाउनेमा भरतपुर महानगर परेको छ । काठमाडौं महानगरपालिकाले २ अर्ब ३ करोड ९९ लाख, पोखरा महानगरपालिकाले २ अर्ब ५८ करोड ४६ लाख, वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख, ललितपुर महानगरपालिकाले १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पाएका छन् । सरकारले देशका ६ वटा महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *